जाजरकोटबाट फर्केपछि सरकारलाई प्रदीपको सुझाव- पुनर्निर्माण थालौँ, युवालाई सहुलियत ऋण दिऔँ

काठमाडौं । जाजरकोटामा भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणको लागि नेपाली कांग्रेसको तर्फबाट नेतृत्व गरेर गएको केन्द्रीय सदस्य प्रदीप पौडेलको टोली फर्किएको छ।

कांग्रेसले एक हजार अस्थायी आवास बनाउन निर्णयअनुसार अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नेतृत्वमा अर्को टोली काम थालिसकेको छ। कांग्रेसले नलगाढ नगरपालिका ५ मा दक्ष मिस्त्रीहरूको नेतृत्वमा, स्वयंसेवक र स्थानीय समुदायको सहभागितामा एक सय घर टहरा निर्माणको आधारभूत कार्य सम्पन्न गरेको नेता पौडेलले बताएका छन्।

उनले जाजरकोटाबाट फर्किएपछि सरकारले घोषणा गरेको ५० हजार रुपैयाँ राहत तत्काल उपलब्ध गराउन आवश्यक भएको बताए। टहरा निर्माणका लागि ठूलो जनशक्ति आवश्यक रहेको हुँदा स्वयंसेवी भूमिका लागि उत्साहित हुने गरी सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।

चिसो मौसमबाट नागरिकलाई जोगाउन न्यानो लत्ता कपडा, ब्लाङकेट, टेन्ट लगायतका सामाग्री तत्कालै व्यवस्था गर्नुपर्ने, भूकम्पका कारणले प्रभावित भएका बालबालिकाको नियमित अध्ययन अध्यापन सुचारु गर्न अस्थायी संरचना तथा विद्यालय पुनर्निर्माण तत्काल गर्नुपर्ने, स्थानीय युवालाई आर्थिक गतिविधिमा जोड्न योजना निर्माण गर्ने तथा आर्थिक सहयोग, अनुदान र सहुलियत ऋण उपलब्ध गराउनु पर्ने उनले बताए।

जिल्लाका कतिपय बस्ती अति जोखिममा रहेका कारण त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न योजना निर्माण गर्नुपर्ने, भूकम्पबाट हुन सक्ने जोखिम कम गराउन भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न आवश्यक जनचेतना तथा प्राविधिक सहयोग गर्नुपर्ने तथा दीर्घकालीन योजना निर्माण गर्नुपर्ने, पुनर्निर्माण तथा नागरिकको स्थायी घर निर्माणको कार्य तत्काल सुरु गर्नुपर्ने उनले बताए।

गरिबीको रेखा मुनि रहेका नागरिकलाई भइपरी आउने आपत् विपत्मा सहयोग गर्न तथा सरकारको आभास हुने गरी दीर्घकालीन व्यवस्थापनका योजना निर्माण गर्नुपर्ने उनको भनाइ छ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.