ज्वानोका फाइदैफाइदा

तेलमा ज्वानो फुराएर बनाएको परिकारको स्वाद र सुगन्ध बेग्लै हुन्छ । धेरैलाई थाहा नहुन सक्छ, यसमा भरपुर मात्रामा औषधीय गुण पनि हुन्छ । त्यसैले आयुर्वेदमा यसलाई बहुउपयोगी औषधिको रुपमा हेरिन्छ । आयुर्वेद चिकित्सा पद्धतिमा यो ‘यवानी’को नामले प्रसिद्ध छ । आयुर्वेदले बहुउपयोगी औषधि मानेको ज्वानोको प्रयोग परापूर्वकालदेखि नै गरिंदै आएको छ ।

पहिलेदेखि नै सुत्केरी हुँदा महिलालाई तगडा बनाउन दैनिक ज्वानोको झोल राखेर दिइन्थ्यो र अहिले पनि दिइन्छ । जसकारण धेरैलाई यो सुत्केरी महिलाले मात्र खाने खुराक मानिन्छ । तर त्यसो भने पक्कै होइन ज्वानोलाई धेरै स्वास्थ्य समस्यामा औषधिको रुपमा रामवाणको काम गर्छ ।

ज्वानोमा के पाइन्छ ?
फाइबर, एन्टीअक्सिडेन्ट, सोडियम, पोटासियम, फस्फोरस, म्यागनेसियम, प्रोटिन, भिटामिन, आयोडिन, कार्बोहाइड्रेट, क्याल्सियम र अन्य भिटामिन तथा खनिज जस्ता तत्वले ज्वानो भरिपूर्ण छ । नेपाली भान्छामा ज्वानोको धेरै प्रयोग हुने भए पनि यसको आयात बढी भारतबाट हुन्छ । यसको खेती समुन्द्र सतहभन्दा ४५ सय फिट उचाइमाथि गरिन्छ । खासगरी नेपालको तराई, भारत, इजिप्ट र अल्जेरियामा ज्वानो खेती धेरे गरिन्छ ।

ज्वानोका फाइदा
प्रसूति र महिनावारी पीडामा
प्रसूतिको समयमा ज्वानो पानी र ज्वानोको झोल दिनहुँ पिउनु लाभदायक हुन्छ । यसले पेनकिलर औषधिको रुपमा काम गर्ने हुँदा सुत्केरी अवस्थामा दुखेको शरीरलाई आराम दिन्छ । यसमा प्रशस्त रुपमा हुने भिटामिन डी, बी–१२ ले जोर्नीका दुखाइ कम गर्न मद्दत गर्नुका साथै शारीरिकमा हुने अन्य दुखाइलाई पनि कम गर्छ ।

ज्वानोमा पाइने प्रोटिन, भिटामिन, क्याल्सियम र अन्य भिटामिनजस्ता तत्वले सुत्केरी हुँदा तागत दिन्छ । सुत्केरी महिलाले दिनहुँजसो ज्वानो पानी खाँदा स्तन सुन्निने समस्या हुन दिंदैन । त्यस्तै महिनावारीमा अत्यधिक हातखुट्टा दुख्ने, पेट दुख्ने भएमा यसको काडा बनाएर पिउँदा ठीक हुन्छ ।

शिशुलाई आराम दिन्छ
शिशुहरु आफूलाई पीडा भएको बोलेर व्यक्त गर्न सक्दैनन् । यस्तोमा उनीहरुलाई शरीर दुखेको र पेटमा समस्या भए रोएर नै व्यक्त गर्छन् । जसबाट आमाले शरीरमा सञ्चो नभएको बुझ्नुपर्ने हुन्छ । कहिलेकाहीं शिशु पेटमा समस्या भएर पनि रोइरहेका हुन्छन् । यस्तोमा आमाले ज्वानोको रस आफ्नो दूधमा मिसाएर दिंदा शिशुलाई राहत मिल्छ ।

पाचन समस्यामा
ज्वानो पानीले पाचनशक्ति बढाउँछ । जसकारण कसैलाई खानामा अपच वा अरुचि छ भने यसले भोक जगाउन मद्दत गर्छ । साथै यसमा पेटमा रहेको अंकुशे कीरालाई पनि मार्न सक्ने शक्ति हुन्छ । तीनदेखि ६ ग्रामसम्म ज्वानोको धुलो पानीमा मिसाएर खाँदा पाचनशक्तिलाई सन्तुलनमा राख्छ । ज्वानोमा हुने थाइमले डायरिया, पेट फुल्ने, फुड पोइजनबाट हुने पखाला जस्ता समस्या कम गर्छ ।

रुघाखोकी
ज्वानोमा हुने तातोपनले चिसोमा लागेको रुघाखोकी र घाँटी दुख्ने समस्यालाई पनि ठीक गर्न सहायक मानिन्छ । खकार नआउने तर घाँटी ख्यास–ख्यास गर्ने र खोकी लागिरहन्छ भने ज्वानो र पानी उमालेर बाफ लिंदा फाइदा पुग्छ ।

मोटोपन नियन्त्रण
ज्वानोले कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको स्तर घटाउँछ । जसले खानालाई चाँडै सोसेर तौल घटाउने काम गर्छ । ज्वानोमा पाइने थाइमोल र नियासिनले रक्तसञ्चारलाई प्रभाव गर्छ र नसाको तन्तुमा आवेग बढाउँछ । जसले शरीरलाई सक्रिय बनाउँछ । साथै फाइबर, मिनरल्स, एन्टीअक्सिडेन्ट र भिटामिनको भएकाले यसले विषाक्त पदार्थलाई बाहिर निकालेर शरीरलाई स्वस्थ बनाउन मद्दत गर्छ ।

ज्वानोको तेल
ज्वानो खान मात्र होइन यसबाट निस्कने तेल पनि उपयोगी छ । यसको तेलमा थाइमेल भन्ने तत्व पाइन्छ । सो तत्वमा चिकित्सकीय गुण हुन्छ । एन्टी–इन्फालमेटरी गुण भएकाले यसको तेलले जीउ मालिस गर्दा दुखेको सन्चो हुने, चोटपटकले कुनै अंग सुन्निएको छ भने बसाउन मद्दत गर्ने र चिसो लागेको निको पार्छ ।

यसबाहेक ज्वानोमा एन्टी–ब्याक्टेरियल र एन्टी–फंगल गुण हुँदा पिसेको ज्वानोको लेप घाउमा लगाउँदा छिटो भरिनुका साथै संक्रमण फैलिन दिंदैन । यसको पानीले घाउ सफा गर्न पनि मद्दत गर्छ ।

कसरी प्रयोग गर्ने ?
पानीमा ज्वानो हालेर उमालेर खान सकिन्छ । दुई कप पानीमा दुई चम्चा ज्वानो राख्ने र त्यसपछि १० मिनेट जति पकाउने, मनतातो भएपछि ज्वानो छानेर पानीको झोल खान सकिन्छ ।

ज्वानोको धुलो पाउडर पनि मनतातो पानीमा राखेर खान सकिन्छ । स्वास्थ्य अवस्था कमजोर भएको बेला मात्रै होइन, सामान्य अवस्थामा पनि दैनिक एकदेखि दुई ग्राम ज्वानो खान सकिन्छ । तर त्योभन्दा बढी नखानु नै उपयुक्त हुन्छ ।

कसले नखाने ?
गर्भावस्थामा ज्वानो सकेसम्म नखाएकै राम्रो हुन्छ । यस समय खाँदा उत्तेजना बढाउँछ । त्यस्तै, शरीर न्यानो वा शरीर तातो भइरहनेले रगतसम्बन्धी समस्या भएका व्यक्तिले पनि खानु हुँदैन ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.