तनहुँबाट चार बर्षमै बाहिरियो ‘कोशिश’

दुलेगौँडा । नागरिकको मानसिक स्वास्थ्यको क्षेत्रमा सक्रिय रहेको राष्ट्रिय मानसिक स्वास्थ्य स्ववलम्वन संगठन ‘कोशिश’ तनहुँबाट चार बर्षमै बाहिरिएको छ । अन्तराष्ट्रिय गैरसरकारी संगठनहरु मध्ये कोशिशले जिल्लामा लक्षित वर्ग माझ उत्कृष्ट कार्यक्रमहरु सञ्चालन गर्दै आएको थियो । संगठनले जिल्लामा सञ्चालन गरेको कार्यक्रमहरु मार्फत अपेक्षित लक्ष्य प्राप्त गर्न नसकेको जनाइएको छ ।

कोशिश तनहुँका प्रमुख महेन्द्र आचार्यले तनहुँका स्थानीय तहले सहकार्य नगर्ने, जिम्मेवारी पुरा गरेकै कारण कार्यक्रम प्रभावकारी बनाउन नसकेको गुनासो गरे । ‘सिमित जनशक्तिले अपेक्षित परिणाम दिन सकेन, पालिकाहरुले पनि जिम्मेवारी दिएकाहरुलाई परिचालन गर्न सकेन ।’ आचार्यले भने ।

उनका अनुसार विगत चार बर्षदेखी लक्षित वर्गको आर्थिक तथा सामाजिक अवस्थालाई सुधार गर्न कोशिशले विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो । जनचेतनामुलक कार्यक्रम, स्वास्थ्य परामर्श प्रदान, विउ पुँजी हस्तान्तरण लगायतका कार्यक्रम जिल्लामा सञ्चालन भएको आचार्यले जानकारी दिए ।

संगठनले सुरु गरेको बाँकी कार्य पुरा गर्न सोमबार शुक्लागण्डकी नगरपालिकामा एक कार्यक्रम गरि आचार्यले नगरपालिकालाई परियोजना हस्तान्तरण समेत गरे । नगरपालिकाले आगामी बर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा समेत योजना र कार्यक्रम निर्माण गर्ने नगर प्रमुख कृष्णराज पण्डितले बताए ।

जिल्लामा मानसिक स्वास्थ्य सम्वन्धी समस्या भएका एक हजार पाँच सय ८ व्यक्तिहरु रहेको कोशिश तनहुँले जनाएको छ । कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग गर्दै आएको सिविएम ग्लोवलले तनहुँभन्दा अन्य जिल्लामा कार्यक्रम सञ्चालन गर्ने ईच्छा व्यक्त गर्दै कोशिश जिल्लाबाट बाहिरिएको हो ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.