सुदूरपश्चिममा डेङ्गुको उच्च जोखिम

बैतडी । सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो ।

दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यस प्रदेशमा सन् २०२३ को अगस्तमा मात्रै तीन सय ५३ जनामा सङ्क्रमण देखिएको छ । उनले भने, “अरु महिनामा फाट्टफुट्ट देखिने डेङ्गु अगस्तमा भने ह्वात्तै बढेर तीन सय ५३ पुगेको छ ।”

पछिल्लो आठ महिनाको तथ्याङ्क हेर्दा यस प्रदेशमा छ सय ८० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । निर्देशनालयका अनुसार जनवरीमा १५, फेब्रअरीमा ५२, मार्चमा एक सय २९, अप्रिलमा २५, मे महिनामा २२, जुनमा २६, जुलाइमा ५८ र अगस्तमा ह्वात्तै बढेर तीन सय ५३ पुगेको छ । प्रदेशभरिमा सबैभन्दा बढी कैलालीमा दुई सय ३२ र सबैभन्दा कम बैतडीमा छ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै दार्चुलामा एक सय ९४, कञ्चनपुरमा एक सय २३, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १२ र डडेल्धुरामा १० जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण यस वर्ष मृत्यु भने कसैको पनि भएको छैन । गत वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा सङ्क्रमण देखिएकामा चार जनाको मृत्यु भएको थियो ।

अरु महिनाभन्दा यो अगस्त महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या अधिक बढेको पाइएको जोशीको भनाइ छ । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु गर्मी र वर्षात्को समय भएकाले बिरामीको सङ्ख्या बढेको हो । उनले भने, “तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । हिमाली क्षेत्र भनेर चिनिने दार्चुलाको ब्यासमा पनि डेङ्गु सार्ने लामखुट्टे फेला परेको छ । यसले गर्दा सबै क्षेत्रमा जोखिम निकै बढेको छ ।” डेङ्गुबाट सङ्क्रमण हुन नदिने एकमात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.