भानुभक्त बहुमुखी क्याम्पसको वार्षिकोत्सव : प्राबिधिक शिक्षा भित्र्याउन जोड

दुलेगौंडा। तनहुँको शुक्लागण्डकी–५, बेलचौतरामा अवस्थित भानुभक्त बहुमुखी क्याम्पसको ३७औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

शुक्रबार क्याम्पस परिसरमा भएको कार्यक्रमको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै नगर प्रमुख पण्डितले क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै भएका कमीकमजोरीलाई सुधार्दै विद्यार्थीको आकर्षण बढाउनुपर्नेमा जोड दिए । उनले क्याम्पसमा समय सुहाउँदो प्राविधिक शिक्षा संचालनका लागि प्रदेश र केन्द सरकारमा पहल गर्ने विश्वास व्यक्त गरे । शिक्षाको गुणस्तर सुधारका लागि आगामी बर्षको बजेटमा शिक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गर्ने बताएका नगरप्रमुख पण्डितले एक वडा एक आवासिय विद्यालय संचालनको विषयमा समेत कार्यपालिका बैठकमा छलफल चलिरहेको बताएका थिए ।

वडा नं–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले क्याम्पसले कार्तिक २३ गतेलाई वार्षिकोत्सव मनाउदै आएको भएपनि पछिल्लो बर्षहरुमा फेरवदल भइरहेको भन्दै आफु अलमलमा परेको बताएका थिए । सो क्रममा उनले शिक्षाको गुणस्तर बढाउन प्राध्यापक, अभिभावक र विद्यार्थीबीच रचनात्मक सहकार्य हुनुपर्नेमा जोड दिदै क्याम्पसले सोचे अनुरुपको प्रतिफल हाँसिल गर्न नसकेको बताएका थिए । उनले भने ‘यस क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरुलाई राष्ट्र सेवकको रुपमा देख्न पाइएको छैन । यसमा मबाट पनि जनप्रतिनिधिको रुपमा भएको कमजोरी सुधार्न तयार छु । सवैले आफ्नो कमजोरी सुधारौँ ।’उनले पुस्तकालयका लागि छुट्याइएको ८ लाख बजेट भवन निर्माणमा लगेर खर्च गरेकोप्रति क्याम्पससंग असन्तुष्टि व्यक्त गरे भने उनले प्राविधिक शिक्षा संचालनका विषयलाई लिएर क्याम्पस प्रशासन र स्थानीय सरकारलाई आरोप प्रत्यारोपमा नलागी निष्कर्षमा पुग्न आग्रह गरेका थिए । यदि आर्थिकका कारण काम अगाडि बढ्न नसकेको हो भने वडाको बजेट काटेर भएपनि क्याम्पसमा हाल्न तयार रहेको उल्लेख गरेका थिए ।

क्याम्पस सभाका अध्यक्ष प्रा.डा चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन, क्याम्पस सभा सदस्य हरिकुमार श्रेष्ठ, विद्यार्थी राजन श्रेष्ठ, सचिव दुर्गा कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

क्याम्पसका सचिव श्रेष्ठ प्राविधिक शिक्षा संचालनका लागि क्याम्पस तयार रहेको भएपनि अनुमती प्राप्त नभएकोले संचालन हुन नसकेको बताएका थिए ।

वि.सं २०४४ सालमा स्थापना भएको यस क्याम्पसको सम्पत्ति रु. ३ करोड ९१ लाख ६९ हजार ६० बैंक मौज्दात रहेको पाइएको छ । क्यााम्पस प्रमुख रमेशबहादुर अधिकारीले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न वित्तिय संस्थामा उक्त रकम रहेको जानकारी गराएका हुन् । उनका अनुसार क्याम्पसमा हाल ५९५ जना विद्यार्थी अध्ययनरत छन् भने विद्यार्थीको संख्या घट्दो क्रममा रहेको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.