दलित शब्द ठीक कि बेठीक ?

दलित शब्दको अर्थ दविएको, हेपिएको, चेपिएको, दलनमा परेको र पिसिएको भन्ने हुन्छ । त्यस अर्थमा कुनै पनि जात वा ब्यक्ति हेपिएको छ भने, दलित भन्न सकिन्छ । त्यस अर्थमा दलित शब्दले जात विशेष मात्र नभएर ब्यक्ति विशेषलाई पनि जनाउँछ । तर नेपालमा र विशेषत भारतमा वा भिमराव अम्बेडकरले सुरु गरेको छुवाछूतमा पारिएका बिवर्ण जातीको मुक्तीको आन्दोलनका समय देखि नै कामी, दमाई, सार्की, गाइने,पोडे, च्यामे, मुसहर आदि अनेकन नाम बाट सयौं उपजातमा र्विर्गकृत समुदायलाई एउटै शब्दमा “दलित” नामकरण गरि आन्दोलनमा एकताबद्घ गरिएको थियो । १९९४ साल देखि सुरु भएको नेपालको दलित संघर्ष पशुपतिनाथ मन्दिर प्रवेश हुदै जनयुद्घकाल र हालसम्म आइपुग्दा विभिन्न स्तरमा विकास भै रहेछ र अझै संघर्ष जारी छ ।

२०१९/२० सालमा महेन्द्र देखि सुरु भएको संविधानमा उल्लेख हुने प्रक्रिया २०४६ पछिको संविधानमा अलि बढी अधिकार दिए जस्तो हुँदै २०७२ को संविधानमा अझै बढी स्पस्ट गरी विभेदकारी विरुद्घ सरकार वादी बन्नेसम्मको अधिकार दिइएको थियो । यतिसम्म सुधार भै सके पछि अब मानिसहरुलाई लागेको छ, समाजमा अझै बिभेद रहनु भनेको यो दलित शब्दले गर्दा पो हो की ? वागदास, गौतम, वस्याल आदि सवर्णकै जस्तो पद “कैरन” लेख्न पाए र संगठनको नाममा पनि “दलित” हटाउन पाए भेदभाव हुने थिएन की ?

सहर्षनाथ कपाली “?” आदि अगुवाहरुले विगत ४०–५० बर्ष पहिले नै यसको अनुभुति गरी दलित शब्द नराखेर संगठन बनाएका थिए । सायद (सिल्पी समाज), नेपाल “उत्पिडित जातिय मुक्ती समाज” भन्ने पनि थियो । जहाँ दलित शब्द थिएन । यी यस्ता प्रयत्न र नयाँ प्रयोगहरु दलित आन्दोलनको इतिहासमा देखिएका छन् । यी सबै प्रयासहरु आ–आफ्नो स्थानमा सही छन् । तर पनि “नेपाल दलित मुक्ति मोर्चा” नामक तात्कालिन युद्घरत माओवादी पार्टीको भातृसंगठनको रुपमा स्थापित दलित संघर्षका कारण दलित माथिको भेदभाव स्वाट्टै घटेको थियो । अहिलेको संविधानमा उल्लेखित वुँदा र छुवाछूत मुक्त राष्ट्र घोषणा तथा वडा, पालिका, जिल्ला समेतको क्रमश घोषणा हुनु त्यही संघर्षको प्रभाव हो भन्ने कुरा मानव अधिकार वादीहरु पनि स्वीकार गर्छन् ।

जातिय भेदभावको आधार के हो ? विश्वमा चलेका धर्महरु ३०० भन्दा पनि बढी छन् । तर मुख्यत धेरै जनसंख्या ओगटेका धर्महरु मध्ये हिन्दुमा मात्र जन्मको आधारमा पशु भन्दा तल राख्ने संस्कार छ । रंगको आधारमा भेदभाव अन्य मुलुकमा पनि छ । तर ब्रम्हाको मुख, काँध (छाति) जंघा र पाउबाट जन्म भएको भन्ने मिथक, बाल कथाको आधारमा जातीय छुवाछूत सम्मको अपराध गर्ने संस्कार भारत र नेपालमा मात्र छ । यदि अरु देशमा कतै छ भने जहाँ जहाँ हिन्दू छन् त्यहाँ त्यहाँ मात्र छ ।

जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले अणुबम हानेर ध्वस्त बनाए पछि अमेरिकाको सबैले आलोचना गरे । त्यसै क्रममा ब्रिटेनका प्र.म.(राष्ट्रपति)ले भनेका थिए – “अमेरिकाको वुद्घिमानी होला भनेको त बेकार निक्ल्यो । यदि जापानलाई ध्वस्त बनाउनु नै थियो भने किन बम हान्नु पथ्र्यो ? बरु २–४ जना ब्राम्हण पंडित लगेर राखिदिएको भए तिनैले ध्वस्त बनाइ हाल्थ्यो नि ।”

हिन्दु धर्मको वर्ण ब्यवस्था कति घातक छ भन्ने कुरा विश्वले बुझेको प्रमाण हो यो । अहिले पनि हिन्दु शास्त्रको सकार नकार बुझ्न संस्कृत पढ्न थालेका छन् विश्वमा । यसैको आधारमा केही पण्डाहरु हिन्दु शास्त्र असल भएको भनी आत्मरति लिने गरेको पनि देखिन्छ । हाम्रो समाजमा जातको घिन लाग्दो कारणले समाजका इन्जिनियर मानिने दलित समुदायलाई कुनै पनि काम गर्ने र पढ्ने, धन कमाउने, अवसर बाट बञ्चित गर्ने, धर्म शास्त्रद्घारा निर्देशित सस्ंकार— संकृतिका कारण दलित समुदाय पछि पर्यो । करिव जयस्थिति मल्लको पाला देखि १४ औँ शताब्दी देखि आज पर्यन्त करिब ७०० बर्षसम्म पढ्ने, धन कमाउने, अड्डा अदालत र कर्मचारी–सेना प्रहरी समेत । अतः राज्य संचालनका मुख्य—मुख्य सवै अवसरमा खस, आर्य (सवर्णको) मात्र एकलौटी आरक्षण लिएर बसेको थियो । यो सस्ंकार, यो सस्कार निर्देशन दिने शास्त्र र यो संस्कार कार्यन्वयन गर्ने सत्तामा एकलौटी आरक्षण र एकाधिकार लिएको खस आर्य (व्राम्हण क्षेत्री) समुदायद्धारा नै दलित बनाइनुको मूल कारण हो ।
त्यसैले जातीय राज्य, विनाभूगोलकै भए पनि दलित प्रदेश अनिवार्य छ भन्ने आवाज सशक्त बन्दै पनि छ । अत ः समाजमा सिल्पी समुदाय, सिल्पकार लेख्ने अलग नै छन् । सामान्य सिल्पकला गर्नेलाई सिल्पकार भनिन्छ । तर दलितहरु त “विश्वकर्मा” हुन् । इन्जीनियर हुन् , हिजोको जमानामा घर बनाउने, कुलो बनाउने, फलामका धातुका सामान बनाउने, लुगा सिउने, यी सिल्पकारिता होइनन्, ईन्जीनियरीङ हो । एउटा मोटरसाइकल धुने, टायर बदल्ने वर्कसपलाई “अटो ईन्जीनियरीङ्ग वर्कसप” भनिन्छ । भने विश्वकर्मा (संसार बनाउने) ईन्जीनियरलाई सिल्पकार भन्न नहुने वताउन हुन्छ वरिष्ट दलित विद्वान “विश्वभक्त दुलाल आहुति” । म आफु पनि यो विचारमा पूर्ण सहमत छु ।

अर्को तिर करिब ८० बर्षको दलित आन्दोलनले स्थापित गरेको सवै संघर्ष र परिघटनाको मात्र होइन दलित योद्घाहरुको इतिहासको एक मुष्ठ रुप नै दलित शब्दमा संश्लेषण भएको छ । शब्दको अर्थले पनि जात जनाउँदैन हेपिएको चेपिएको जनाउछँ । यदि सिल्पी समुदाय शब्द राख्ने हो भने पनि आपत्ति त होइन । तर खासै भिन्नता रहने छैन । किनकी जातिय विभेद हिन्दु शाष्त्रको मिथक कथा, काल्पनिक आधार र त्यस अनुसारको गलत र विभेदकारी संस्कृतिको जगमा अडेको छ । आर्थिक भन्दा बढी वौद्घिक आडमा यसको जग छ ।
त्यसैले ः १.संस्कृति संस्कार २ वौद्घिक, तार्किक, तथ्यको खोजी ३.आर्थिक सुधार वा सामनता ४. राज्यका सवै अंगमा समानुपातिक समावेसी प्रतिनिधित्व हुनु पर्छ ।

१. संकृति संस्कार : हिन्दु शास्त्रका मनुस्मृति, रामायण, माहाभारत आदिका विभेदकारी कथा र उपदेशहरु पूर्ण रुपमा संशोधन गरी नयाँ छाप्ने र त्यो विभेद विहिन शास्त्रहरु मात्र सुन्न सुनाउन पाउने गरी संविधानमा लेख्ने र ब्यवहारमा लागू गर्ने । साथै प्राथमिक तह देखि +२ सम्म नै कुनै ५० नम्बरको बिषय बनाई जातीय लिंगिय विभेद हुनु हुदैन भन्ने खालका सामग्री पढाउने । दिल्ली आर्य समाजले यो काम सुरु गरेको छ ।

२. वौद्घिक, तार्किक, तथ्यको खोजी : हरेक दलित समुदायका छोराछोरीलाई वुद्घिको विकासका लागि सरकारले उच्चतहसम्म निशुल्क आवासीय शिक्षा दिने र बैज्ञानिक शिक्षा दिने ।

३.आर्थिक सुधार वा समानता  : आर्थिक रुपमा कमजोर हुनुको मुख्य कारण मनुस्मृतिको “वेद पढे जीब्रो काट्नु, धन भए धन खोसिदिनु” भन्ने जस्ता निर्देशनले ६–७ सय बर्ष दवाएका कारण अरु जाति सरह हुनेगरी क्षतिपूर्ती दिनु पर्छ (धन हुने बाहेकलाई) ।

४.राज्यका सवै अंगमा समानुपातिक समावेशी : अन्य जाति सरह राज्यका सबै अंगमा (कार्यपालिका, न्ययापालिका र ब्यवस्थापिका) जनसंख्याको आधारमा सहभागिता गराउनु पर्छ ।

१०–२० वर्ष यसरी बढाएपछि सवै जाति सामुदाय जब बराबरीमा आउँछन् तव दलितको विशेषाधिकार आरक्षण आदि खारेज गर्न सकिन्छ । जसरी एउटा बच्चालाई १८–२० वर्ष नहुँदासम्म संरक्षण गरिन्छ । र जव जवान हुन्छ, पढिलेखी सक्षम हुन्छ अनि विशेष संरक्षणको आवश्यकता नै रहदैन । त्यस्तै दलितलाई अरु जातीसरह सक्षम भएपछि विशेष संरक्षण पनि जरुरी हुदैन ।

निष्कर्ष – नेपाली दलित आन्दोलनले सामान्य मन्दिरमा पूजा गर्न प्रवेश पाउनको लागि कति मेहनत गर्नुपर्यो । जेलनेल समेत बेहोरियो । मानिसहरु विशेषत दलित अगुवाहरु विभिन्न सोच र प्रवृत्तिका देखिए । कसैलाई मन्दिर प्रवेश गरेपछि आन्दोलन सकिएको महसुस भयो होला । २०४६/४७ देखि आज पर्यन्त दलित आन्दोलन पार्टीको निर्देशन र नियन्त्रणमा रहदै आएको देखिन्छ । २–४ जना दलित अगुवाहरुलाई सत्ताको कुनै स्थानमा अवसर दिने र उसको वर्ग उत्थान गरिदिने । अनि उही मार्फत दलित आन्दोलन साइजमा राखिदिने । यो प्रवृत्रि आजसम्म चलिआएको छ ।

मेते आफ्नो मत भनेको प्राकृत न्यायको पक्षधरता हो । प्राकृत न्यायको कोणबाट हेर्दा जति हदमा पुग्दा बराबरी हुन्छ त्यहाँ पुगेपछि मात्र ंसंघर्ष समापन हुन्छ । नत्र समय र परिवेश अनुसार निरन्तर संघर्ष जारी राख्नु पर्छ । १०–२० जना सांसद २–४ जना दलित मन्त्री २०–३० जना मेयर उपमेयर वा वडा बाट एक जना दलित महिला प्रतिनिधि दिएर वा पाएर दलित मुक्ति मै हाल्यो अब संघर्ष होइन भोज भतेरमा रम्ने हो भन्ने मानसिकता बोकेका पार्टी नेता र दलित अगुवाले झन् दलित समाजका जनजनमा वितृष्णा फैलाइरहेका छन् ।

दलित शब्दको मनोविज्ञान चेञ्ज गर्नु मुख्य कुरा हो । शब्द चेञ्जले कुनै फरक पर्दैन । “सिल्पी” लेखौँ “उत्पीडित” लेखौँ वा “राम” लेखौँ । नेपाली समाजको कुना कुना र दूरदराजमा दलित भनेको अछुत भन्ने मनोविज्ञान रहिरहेको हुनेछ । जवसम्म दलित शब्दको हेलत्व भावलाई प्रत्येक मानिसले अन्याय भएको र न्याय दिनु पर्ने भनेर सदभावमा बुझ्दैन तबसम्म जे राखे पनि फरक पर्दैन ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.