आज भानुजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

अशोक विश्वकर्मा ।  आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानु जयन्तीको अवसरमा आदिकवि आचार्यको गृह नगर चुदीरम्घामा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको आदिवकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले जानकारी दिए । रानाभाटका अनुसार चुँदी रम्घामा विहीबार राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगिता, विद्यालय स्तरीय स्तरीय कविता प्रतियोगिता र रामायण पाठ वाचन प्रतियोगिता सम्पन्न भएको बताए । उनले आज भानुभक्तको जन्मस्थलमा पञ्चकन्याबाट रामायण वाचन तथा प्रभात फेरी र विभिन्न साहित्यिक र सांस्कृति कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

भानु जयन्तीको अवसरमा लाखे नाँच, बाहुन समुदायको बालन नाँच, कुमाल समुदायको सोरठी र असारे गित सहित रोपाई जात्रा प्रदर्शन गर्ने तयारी भईरहेको छ । आज भानु जयन्ती विशेष कार्यक्रममा सहभागी हुन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आउने तय भएको रानाभाटले जानकारी दिए । यस बर्ष समितीको तर्फबाट रामायण प्रकाशन समेत गरिएको छ ।

आदिकवी आचार्यको सम्झनामा गृहजिल्लासँगै देश तथा विदेशमा समेत विभिन्न कार्यक्रमहरु आयोजना हुदैछ । दार्जि्लिङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश भारतीय क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमहरु हुने गरेका छन् ।

भानु जयन्तीको महत्वलाई अझ ब्यापक बनाउन आज गण्डकी प्रदेश सरकारले समेत सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस अघि भानु नगरपालिकाले मात्र सार्वजनिक विदा दिदै आएकामा गत बर्षदेखि प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मिएका आचार्यले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए । उनका ‘प्रश्नोत्तर’ ( १९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ – १९१९), ‘रामगीता’(१९२५) तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन् । आचार्यले लेखेका पाण्डुलिपिलाई संग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगत्मा चिनाएका थियो ।

विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घाको विकास गर्न विस २०५२ देखि समिति गठन गरेर विभिन्न काम हुदै आएको भानुजन्मस्थल विकास समितिले जनाएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.