मुगुको खाद्य डिपोमा चामल अभाव

खाद्य डिपोमा चामल अभाव मुगु । जिल्लास्थित सोरु गाउँपालिकाको सोरुकोट खाद्य डिपोमा चामल अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । वार्षिक खाद्यान्न कोटा एक हजार पाँच सय मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । ‘गमगढीस्थित खाद्यव्यवस्था तथा व्यापार लिमिडेटबाट एक ट्र्याक्टर चामल सोरुकोट डिपोमा पुग्नेबित्तिकै स्थानीयले चामल लैजान्छन् । गोदाममा चामल जगेडा रहँदैन, गमगढीबाट आउनेबित्तिकै बिक्री भइहाल्छ’, डिपोका कार्यालय सहायक सिंह रोकायाले भने ।
दिनमा ५० देखि एक सय क्विन्टल बिक्री हुँदा गमगढीबाट ढुवानी भएको चामल उपभोक्तालाई पुर्‍याउँनै धौधौ हुने गरेको उनको भनाइ छ । ‘डिपोमा दुई बोरा चामल लिन आएका स्थानीयले एक बोरासमेत नपाउने अवस्था छ’, रोकायाले भने । आर्थिक अवस्था कमजोर भएका परिवारका घरमा कार्तिके अन्नबाली चैत, वैशाखमा नै सकिने र गहुँ, जौलगायत बाली नपाक्दासम्म खाने अन्न नभएपछि खाद्यमा चामल किन्न धाउने गरेको उनले बताए ।
सोरुकोट खाद्य डिपोमा वार्षिक कोटा नै कम भएको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिडेटका प्रमुख पुष्कर भामले बताए । आउँदो आर्थिक वर्षदेखि कोटा वृद्धिको माग गरेको उनको भनाइ थियो । ‘अन्न अभावका कारण भिई, नार्थपु, जिमा, सिप, फोतु, नेरलगायत बस्तीका स्थानीय हिजोआज चामल लिन सोरुकोट डिपो पुग्छन्’ भामले भने । उनका अनुसार सोरुका केही बस्तीमा गत असोज १९ देखि २३ मा आएको बाढीपहिरोले अन्नबाली नष्ट गरेको थियो ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.