कसरी भाइरल भइरहेछ अन्धविश्वास ?

देश जहाँ उपचारका लागि सरकारी अस्पतालको पर्याप्त पूर्वाधार छैन । भएका सरकारी अस्पतालमा पनि डाक्टर, नर्स र औषधि छैन । बाध्य भएर निजी अस्पताल जाँदा जायजेथा गुमाउनुपर्छ तर गुणस्तरीय उपचारको प्रत्याभूति हुँदैन । एकातिर शिक्षा र सामाजिक चेतनाको अभाव, अर्कोतिर निजी अस्पतालका आँगनमा पाइला राख्दै लुगलुग काम्नुपर्ने अवस्था । त्यस्तो देशमा धामीझाँक्री, झारफुक र कथित अलौकिक शक्ति’ को भ्रमको व्यापार हुनु धेरै अनौठो होइन । तर, डरलाग्दो के भने यस्तो भ्रममा परेर नागरिकले ज्यान गुमाइरहेका छन्, कति थप स्वास्थ्य जटिलताले पीडित छन् ।
कारण शिक्षा र चेतना हो, कारण कमजोर आर्थिक अवस्था र महँगो स्वास्थ्य सेवा पनि हो । अन्धविश्वास कतिसम्म गहिरो छ भने अस्पतालको आकस्मिक कक्षबाट बिरामी खोसेर धामीको शरणमा पुर्‍याइएका उदाहरण पनि छन् । आजको युगमा पनि यस्तो अन्धविश्वास कायम रहनु जनस्वास्थ्य र सामाजिक चेतना दुवै क्षेत्रका लागि एउटा चर्को चुनौती हो ।
तसर्थ, दिनानुदिन नागरिकहरू अन्धविश्वासको सिकार भइरहँदा राज्य संयन्त्रहरू मूकदर्शक भएर बस्नु हुँदैन । अन्धविश्वासको व्यापार गर्ने व्यक्ति वा समूहलाई अनुसन्धानको दायरामा ल्याई कानुनी प्रक्रियामा लैजानुपर्छ । यस्तै धामीझाँक्री, विभिन्न धार्मिक गुरु तथा अगुवाहरूलाई पनि यसबारे व्यवस्थित रूपमा प्रशिक्षित गर्नु आवश्यक छ । त्यतिमात्र होइन, शिक्षा र स्वास्थ्यका पूर्वाधार विकास र सेवा विस्तारमा राज्य संवेदनशील हुनुपर्छ । यसका निम्ति संघीय र प्रदेश सरकारको सहयोगमा पालिकाहरूले अन्धविश्वासविरुद्ध अभियान नै चलाउनुपर्छ । र, राजनीतिक दल, विद्यालय तथा सामाजिक संघसंस्थालगायत समाजको सचेत वर्ग यसविरुद्ध दृढतापूर्वक उभिनुपर्छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.