गाउँमा बसेर सेवा गर्ने थापा सहित तीन जनालाई पूर्ण स्मृति सम्मान तथा पुरस्कार

दुलेगौंडा । तनहुँको एक सञ्चार माध्यमले ग्रामिण क्षेत्रका विकासमा योगदान पु¥याएको नन्दबहादुर थापा सहित साहित्य र पत्रकारितामा योगदान दिने तीन जनालाई सम्मान गर्ने भएको छ । जिल्लाको दुलेगौँडाबाट प्रसारित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जले गत बर्षदेखि वितरण गर्दै आएको पूर्ण स्मृति सम्मान तथा पुरस्कार मार्फत यस पनि तीन जनालाई सम्मान गर्ने भएको हो । पत्रकारिता क्षेत्रमा सक्रिय रहेका दमौलीमा विकास खनाल र साहित्य क्षेत्रमा सक्रिय साहित्यकार सागर उदासलाई यस बर्षसम्मान गरिने एफ.एम.का स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिए ।

स्टेशन म्यानेजर उपाध्यायका अनुसार एफ.एम.का अध्यक्ष स्वर्गीय पूर्णकुमार श्रेष्ठको स्मृतिमा स्थापना गरिएको अक्षय कोषबाट बर्षेनी, समाजसेवा सहित पत्रकारिता र साहित्यमा योगदान पु¥याउने तीन जनालाई सम्मान गरिनेछ ।

यस बर्षका लागि सम्मान हुने ब्यक्तिहरुको नाम छनौट गरिएको जानकारी दिदै उपाध्यायले पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०÷१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको बताए । तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्य एक र खोज पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट छनौट गरिएको हो ।

समाजसेवातर्फ छनौट भएका ६६ वर्षिय थापा यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । झण्डै ४ दशक शिक्षण पेशामा आवद्ध उनी निवृत्तपछि सामाजिक क्षेत्रमा क्रियाशिल छन् । ग्रामिण होमस्टेको प्रवद्धनमा लागेका उनी हाल शुक्लागण्डकी–२ दगाम बस्दै आएका छन् ।

यसैगरी साहित्यतर्फ सम्मानित हुन लागेका उदास वि.स. २०४५ सालदेखि कलम चलाउन थालेका हुन् । उनको शब्दको पहिलो गीत २०५१ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो । विभिन्न गिती पुस्तक, आधुनिक गीत रेकर्ड भएका छन् । ५३ वर्षि उदास वर्मामा जन्मिएका हुन् । हाल व्यास–२ दमौलीमा बस्दै आएका उदास गण्डकी बाङ्मय प्रतिष्ठानका निवर्तमान अध्यक्ष हुन् ।

यस्तै सम्मानित हुन लागेका पत्रकार खनाल दमौलीमा रहेर पत्रकारितामा क्रियाशिल छन् । म्गाग्दे–१ को गुणादीमा जन्मिएका खनाल हाल हाल व्यास–२ मा रहेर पत्रकारिता गर्दै आएका छन् । वि.स.२०५७ सालबाट लेख रचना प्रकाशन गर्दैै २०६७ सालमा मादी सेती प्रवाह दैनिकबाट पत्रकारिता शुभारम्भ गरेका खनाल हाल प्राइम टाइम टेलिभिजन, सेती मादी दैनिक र बीएनबी मिरर डटकममा आवद्ध छन् । खनाल अघिल्लो कार्यकालमा म्याग्दे गाउँपालिकाको प्रेस सल्लाहकार थिए ।

स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरिएको हो । तनहुँ मिडिया नेटवर्क मार्फत प्रसारित एफ.एम.का संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले पुरस्कृत व्यक्ति छनौट गरेको थियो । पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०७९ बाट पत्रकारितातर्फ विश्वबन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवातर्फ भक्तबहादुर रिमाल सम्मानित भई सकेका छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.