पक्राउ परे कृष्णबहादुर महराका छोरा राहुल

काठमाण्डौँ । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। उनलाई काठमाडौंबाटै पक्राउ गरिएको जानकारी नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले नेपालखबरलाई बताए।

भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा महराका बाबुछोरा नै मुछिएका छन्। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराले इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ९ किलो सुन तस्करी गर्ने व्यक्तिसँग सयौँ पटक सम्पर्क गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो।

महराका बाबु–छोराले सुन तस्करसँग पटकपटक फोन संवाद गरेको कुरा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले नै पुष्टि गर्दा पनि उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि नबढाइएको भनी संसद्‍मा पनि आलोचना भएको थियो।

यसअघि महरा र पुत्र राहुलले कोही व्यक्तिसँग सम्पर्क हुँदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत भन्दै आफ्नो बचाउ गरेका थिए। तर चिनियाँ नागरिकले दुबईबाट तस्करी गरी ल्याएको ९ किलो ११.५२४ ग्राम सुन भन्सार कार्यालयले गत पुसमा समातेको थियो।

तस्करहरुले भन्सारका कर्मचारीको मिलेमतोमा इलेक्ट्रिक सिगरेटभित्र लुकाएर ल्याएको सुन चोरेर सो स्थानमा इलेक्ट्रिक सिगरेट नै राखिदिएका थिए। भन्सारले सुरुमा पक्राउ गरेपछि चिनियाँ नागरिकले सिगरेट नै भएको दाबी गर्दै छुटाउन विभिन्न व्यक्तिको दबाब लगाएको खुलेको छ। जसमा महराका बाबुछोरा समेत जोडिएका थिए।

चिनियाँ नागरिकहरु लुइ र दावजिङ वाङसँग कृष्णबहादुर महराको पटकपटक सम्पर्क देखिएको थियो। महराका छोरा राहुलको पनि दावजिङसँग सम्पर्क देखिएको छ। जुन कुरा सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा खुलाएको थियो।

सुन ल्याउने समूह, भन्सारबाट सुन चोर्ने समूह र सुन बेच्ने समूहका छुट्टाछुट्टै तीनवटा चार्ट अदालतमा पुगेको छ। महराका बाबुछोराको कनेक्सन सुन ल्याउने र सुन बेच्ने समूहसँग देखिएको थियो।

सुन ल्याउने समूहको कनेक्सनमा ८ जना देखिएका छन्। जसमा महराका बाबुछोरासँगै दुई चिनियाँ, लोकेन्द्र पौडेल, श्याम शाह, अश्विन, खुवाप्रसाद न्यौपानेको कनेक्सन रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

न्यौपानेमार्फत भन्सारबाट सुन चोरेर बेच्ने समूहसम्म कनेक्सन पुगेको छ। दिनेश बस्नेत, निर्मल विक, रेवन्त खड्का, दिपेश बस्नेत, गोपाल सुवेदी, विश्वराम खड्काको कनेक्सन देखिएको थियो।

कृष्णबहादुर महरा र राहुल महरा भन्सार अधिकृतको बयानमा पनि जोडिएका छन्। भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले बयानका क्रममा उक्त सुनको बारेमा महराका बाबुछोराले नै चासो राखेको बताएका थिए।

भन्सार अधिकृत श्रेष्ठलाई भेट्न सुरुमा श्यामसुन्दर साह पुगेका थिए। इलेक्ट्रिक सिगरेट जलविद्युत आयोजनामा काम गर्ने चिनियाँ कामदारको उपभोगको लागि ल्याएको भन्दै राजस्व दाखिला गरी जाँचपास गरिदिनु पर्यो भनी अनुरोध गरेका थिए।

तर अधिकृत श्रेष्ठले जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएको बताएका छन्। उनी फर्किएको केही समयपछि कृष्णबहादुर महराले आफूलाई टेलिफोन गरी भन्सार जाँचपास गरिदिन भनेको श्रेष्ठको बयान छ।

यही विषयमा कृष्णबहादुरका छोरा राहुलले पनि फोन गरेर जफत भएको उक्त इलेक्ट्रिक सिगरेटको लिलाम प्रक्रियाबारे सोधेको श्रेष्ठले बयान दिएका थिए।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.