तनहुँ योग साधनामय बन्दै

अशोक विश्वकर्मा/दुलेगौँडा । झण्डै ७ बर्ष अघि एक ब्यक्तिको प्रयासले अहिले जिल्लाको शुक्लागण्डकी नगरपालिका योगमय बन्ने बाटोमा अग्रसर छ । २०७३ श्रावणमा बोलबम समुह गठन गरेर धार्मिक कार्यक्रम गर्दै आएका दुलेगौँडाका ऋषेश्वर भुवाईले यो समाजलाई योगसँग जोड्ने योजना बनाएका थिए ।

धार्मिक समुहको नेतृत्व गरिरहेको भुवाईले आफ्नै प्रयासमा योग शिक्षा फैलाएर स्वस्थ्य समाज निर्माण गर्ने प्रण गरेर प्रक्रिया अघि बढाएका थिए । विभिन्न ब्यक्ति र संस्था समक्ष पुगी शुक्लागण्डकीमा योग शिक्षा भित्राउन पहल गरेका भुवाईले आज यसको महत्व नागरिक स्तरमा बढ्दै जान थालेको बताए ।

योग विस्तार गर्ने क्रममा पतञ्जली योग समितिका केन्द्रिय प्रभारी लभदेव मिश्र समक्ष पुगेर योग शिक्षा भित्राएका दावि गर्दै उनले ६ बर्षको अन्तरालमा ८ वटा साधना केन्द्र खुलिसेकेको जानकारी दिए । केही ब्यक्तिहरुको साथ लिएर योग सुरु गरिएको शुक्लागण्डकीमा अहिले विभिन्न केन्द्रमा पाँच सय बढीले योग साधनामा सहभागि हुने गरेको भुवाईले बताए ।

विहानको समयमा गरिने योगले शारिरीक र मानसिक स्वस्थ्यलाई मजबुत बनाउने भएकाले आफु नियमित योग तर्फ आकर्षित भएको ब्यवसायिक बालकृष्ण विक बताउँछन् । उनले पछिल्लो समयमा युवा पुस्ताहरु आध्यात्मिक क्षेत्रबाट विमुख भएको भन्दै त्यसतर्फ अन्यलाई समेत आकर्षण गर्न सकिने उनको भनाई छ । योगले दिर्घजीवन र तनाव मुक्त जीवनका लागि महत्वपुर्ण भूमिका खेल्ने विकको बुझाई छ ।

योग साधनाका लागि स्थानीय सरकारले समेत सहयोग गर्न थालेको छ । जिल्लामा विभिन्न स्थानीय तहको आर्थिक सहयोगमा योगाभ्यास कक्षा समेत सञ्चालन हुने गरेका छन् । नगरपालिका र वडा कार्यालयहरुले योग साधना केन्द्र सञ्चालनका लागि आर्थिक रुपमा नै सहयोग गर्न थालेपछि नागरिकको आकर्षण अझ बढेको योग प्रशिक्षक पार्वती पौडेलले बताईन् । उनले केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने भवन र सामाग्रीहरु संघ संस्था र स्थानीय सरकारको सहयोगमा उपलब्ध हुन थालेको भन्दै खुशी ब्यक्त गरिन् । पौडेले शुक्लागण्डकी नगरपालिकाको प्रत्येक वडामा योग सञ्चालन गर्न आफुहरु प्रयासरत रहेको समेत जानकारी दिइन् ।

छोटो समयमा नै योग प्रतिको आकर्षण बढ्दै जानुमा स्वस्थकर जीवनशैलीका लागि सिप सिक्नु नै हो । अहिले विभिन्न समस्याबाट ग्रसित ब्यक्तिहरु योगा गर्न सहभागि हुने गरेका छन् । शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा हुने योगाभ्यासमा टाउको दुख्ने समस्या, ढाड, घुँडा लगायतका समस्या भएकाहरु सहभागि हुने गरेका छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.