दुलेगौंडा– शुक्लागण्डकीमा भएको निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा १६५ जनाले सेवा लिएका छन् । नागरिक प्रथम अभियानले निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शनिबार शुक्लागण्डकी नगरपालिका–७ टुँडास्थित सिद्धबाबा तमु समाजको हलमा शिविर सञ्चालन भएको थियो । शिविरमा आयुर्वेद डा. विवश बाँस्तोला, डा. शेरबहादुर थापा, डा. अर्जुन सापकोटा, डा. पारस बस्नेतको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
प्राविधिकसहितको चिकित्सक टोलीले बाथ, नसा, ग्याष्ट्रिक, दम, श्वासप्रश्वास, पिनास, महिला तथा प्रसुति रोग लगायतको परीक्षण गरेको नागरिक प्रथम अभियानका अभियान्ता भद्रबहादुर खत्री (बिष्णु) ले बताए । ‘निशुल्क स्वास्थ्य परीक्षणसँगै औषधी पनि निशुल्क उपलब्ध गरायौं’, उनले भने ।
डाबर, देख हर्बल, गोरखा आयुर्वेद, प्राकृतिक हर्बल, फ्लेबर हर्बल, निम हर्बल लगायतले औषधिमा सहयोग गरेका थिए ।
नागरिकलाई स्वास्थ्य सचेतना बढाउन शिविर सञ्चालन गरेको नागरिक प्रथम अभियानका संयोजक जर्नादन वियोगीले बताए । ‘हाम्रो अभियानले भ्रष्टाचारका कुरा मात्रै गर्दैन । समाजमा स्वास्थ्य सचेतना पनि जगाउँछ’, उनले भने ।
नागरिक प्रथम अभियानले पछिल्लो समय शुक्लागण्डकी नगरपालिकाभित्र भएका वेथिति, विसंगतिविरुद्ध आवाज उठाउदै आइरहेको छ ।