राजमार्ग विस्तारसँगै दुलेगौंडा बजार व्यवस्थापनको चिन्ता


दुलेगौंडा–
पृथ्वी राजमार्ग अन्तर्गतको आँबुखैरेनी–पोखरा सडक खण्ड चार लेनमा विस्तारको काम भइरहेको छ । जामुने पोखरा (पश्चिम खण्ड) को दुलेगौंडा बजारमा एकातर्फी सडक कालोपत्रे भएपनि दुईतर्फी सडक कालोपत्रेले पूर्णता पाएको छैन ।

बिजुलीको पोल, ट्रान्समिटर स्थानतरण र मापदण्डमा पर्ने घर भत्काउन अटेरी गर्दा शुक्लागण्डकी नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र दुलेगौंडा बजारमा ‘सर्भिस लेन’ को काम बाँकी नै छ । सर्भिस लेनको काम नहुदै दुलेगौंडा खानेपानी उपभोक्ता समितिले धमाधम पाइप गाड्न थालेको छ । घरबाट निस्कने फोहोर पानी व्यवस्थापन गर्न ढल निकास, फुटपाथ, पार्किङ व्यवस्थापन लगायतका विषयमा दुलेगौंडाबासीले चासो देखाएका छन् ।

डिजाइन अनुसार सडक निर्माणले पूर्णता पाएको बखत बजार कस्तो हुने हो ? बजारको व्यापारिक गतिविधिको अस्तित्व नै मेटिने हो की ? चिन्ता समेत स्थानीयले जाहेर गरेका हुन् । सडकको काम सक्दा कस्तो हुन्छ जनप्रतिनिधि नै अन्योलमा रहेको व्यवसायि हरि खड्काले आरोप लगाए । ‘व्यवस्थित बजारका लागि अहिले पार्किङको समस्या छ । सटरहरु खाली भएका छन् । व्यवसायीले भाडा तिर्न सकेको अवस्था छैन’, उनले भने । सडकको डिजाइनबारे जानकारी नहुनु नै व्यवस्थित बजार नहुनु धुर्बसत्य भएको खड्काको भनाइ थियो ।

ट्याक्सी व्यवसायी घनश्याम सिग्देलले बजार अस्तव्यस्त हुदाँ ट्याक्सी पार्किङ गर्न निकै समस्या भएको सुनाए । ‘बाटोमा राख्दा चाप बढी हुने । अहिले खाली ठाउँ हेरेर बाटोमा राखीराखेको छौं । तर, हामीलाई पार्किङस्थलको अतिआवश्यक परेको छ’, उनको गुनासो थियो ।

विष्णु अर्यालले सडक व्यवस्थित भएपनि व्यापारिक हब बनाउनलाई सोच्नुपर्ने अवस्था रहेको बताए । ‘गाउँबाट आएको एउटा जिप रोक्ने ठाउँ छैन । जिपबाट झरेको मान्छे उभिने ठाउँ छैन । त्यो मान्छे झर्दै गर्दा पानीको प्यास लाग्ला । झोला राखेर उसलाई हल्का हुनुपर्ला कहाँ छ त्यो ठाउँ’, उनको प्रश्न थियो, ‘कसरी हुन्छ व्यापार ? व्यापार गर्ने हो भने मान्छेको आउजाउ बढाउन पर्छ होलानि ?’ सेतीपारिबाट आउने ग्राहकलाई सहज बनाउन नसकेसम्म बजार व्यवस्थित नहुने उनको तर्क थियो ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा चार लेनमा विस्तार भइरहेको सडक योजनामै सर्भिस लेनसँगै नाला, अपांगमैत्री फुटट्रयाक बन्ने शुक्लागण्डकीका मेयर कृष्णराज पण्डितले बताए । ‘डिजाइन मिस्टेकको कारणले पूर्णता आजसम्म पनि दिएको छैन । विस्तारै करेक्सन गरेर सडकको पूर्ण डिजाइन आउदैछ’, उनले भने, ‘पहिला रेखांकन गरेका क्षेत्रहरुमा गल्ती थियो ।’ खानेपानी र विद्युतको नियमानुसार काम हुने उनको भनाइ थियो ।

वन्केवातर्फ जाने ट्रान्सफर्मरबाहेक सबै ट्रान्सफर्मर अहिलेकै स्थानमा रहने मेयर पण्डितको ठोकुवा छ । ‘कसैले घर भत्काउन दिन्नँ । कसैले पोल सार्न दिन्न भन्ने पक्षमा हुनुहुन्छ भने स्थानीय सरकार टुलुटुलु हेरेर बस्न सक्दैन’, जिकिरका साथ उनले भने ।

उपमेयर खुमबहादुर विक ‘राजु’ ले सवारी पार्किङका लागि हेल्थपोष्टको तल पञ्चमुनिदेव माविको जग्गामा बसपार्क बन्ने बताए । ‘पार्किङ गर्ने पार्किङ स्थलमा बसपार्कमा नै हो । दुलेगौंडा लिलचोक खण्डको काम विश्व बैंकको सहयोगमा भइरहेको छ । बसपार्क पनि निर्माणकै क्रममा छ’, उनले थपे, ‘काम भइरहेको हुदाँ अहिले तल जान सक्ने अवस्था छैन । अबको भदौ १५ भित्रमा त्यो काम सकिसक्नुपर्छ ।’

उनले फोहोरमैला व्यवस्थापनका लागि अब छिट्टै सूर्य नेपालसँग सहकार्यमा काम अगाडि बढेको बताए । अबको केही दिनमा नगरपालिका, सूर्य नेपाल र ग्रिन नेपालसँग त्रिपक्षीय सम्झौता हुने उनको भनाइ थियो ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति शुक्लागण्डकी–४ ले आयोजना गरेको व्यवस्थित बजारका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले केबल इन्टरनेटका तारले बजार कुरुप बनाएको, सार्वजनिक शौचालयको अभाव, एकै ठाउँमा गाउँबाट आएको सवारी रोकिदाँ व्यपारमा कमी, दुलेगौंडा बजारका घरमा डिजिटल नम्बरिङ, सार्वजनिक शौचालय, फोहोरमैलाको व्यवस्थापन, ध्वनी प्रदुषणको विषयमा प्रश्न उठाएका थिए ।
बजारलाई स्मार्ट कसरी गराउने ? दुर्घटना न्युनिकरण, सीसिटिभी क्यामेराको निगरानी लगाउतका सवाल उठाइएको थियो ।
वडा व्यवस्थापन समिति शुक्लागण्डकी–४ का अध्यक्ष बालकृष्ण विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव उपेन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए । अन्तरक्रियाको सहजीकरण पत्रकार हरि खरेलले गरेका हुन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.