पदमार्ग बनाउन आएका दुई मजदुरको चट्याङ लागेर मृत्यु

पोखरा

कास्कीमा पदमार्ग निर्माणमा खटिएका दुई मजदुरको चट्याङ लागेर मृत्यु भएको छ । आइतबार दिउँसो १ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोंडेमा चट्याङ पर्दा दुई मजदुरले ज्यान गुमाएका हुन् ।
संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुविँर राई र १८ बर्षीय महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । ‘जिल्ला प्रहरी कार्यालयबाट टोली गएको छ’, उनले भने ।
अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार हिडन लेक जाने पदमार्ग बनाउनेलाई ती मजदुर आएका हुन् । उनीहरु ९ जनाको समूहमा आएका थिए । ‘अरु काम गर्न गएका थिए । भान्छामा काम गर्न बसेका दुई जनाको मृत्यु भएको छ’, उनले भने ।
चट्याङ परेको स्थानमा पुग्नलाई पोखराबाट दुई दिनको समय लाग्छ । पर्यटकीय गाउँ घान्द्रुक हुँदै हिडन लेक पुगिने उनले जानकारी दिए ।
चिमाङ्गीमा पदमार्ग बनाउने, रेलिङ राख्ने कामका लागि पर्यटन बोर्ड गण्डकी र अन्नपूर्ण गाउँपालिकाले १८ लाख रुपैयाँ विनियोजन गरेका छन् । सोही बजेटको काम भइरहेको थियो ।
मेघगर्जनसहित चट्याङ परेपछि त्यहाँ असिनापानी र हिमपात भएको जनाइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.