दुलेगौंडा
शुक्लागण्डकी नगरपालिकाको फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणका लागि थप पूर्वाधार निर्माणको काम सुरु भएको छ । शुक्लागण्डकी–५ को कसेरीमा रहेको फोहोरमैला व्यवस्थापन केन्द्रमा आवश्यक पूर्वाधार निर्माणको काम सुरु भएको हो ।
बैशाख ११ गते शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच फोहोर व्यवस्थापनका लागि त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौता लगत्तै सूर्य नेपालको लगानीमा थप पूर्वाधार निर्माणको काम थालिएको छ ।
आइतबार कसेरीमा बन्ने विभिन्न पूर्वाधारको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले शिलन्यास गरे । हाललाई यहाँ विभिन्न ११ युनिट निर्माण हुनेछ । ‘भेर्मी कम्पोस्ट पिट’, ‘अर्गानिक वेस्ट ओपन ट्रस्ट’, ‘डिस्पोजल वेस्ट ओपन ट्रस्ट’, ‘प्लेटिजिङ प्रोसेस सेन्टर’, ‘प्रिसटिङ एरिया’, ‘एक्जिटिङ प्रोसेस सेन्टर’, विद्युतीय घर, शौचालय, भान्छा, क्यान्टिन हल, कार्यालय र सुरक्षाकर्मी घर निर्माणको थालनी भएको शुक्लागण्डकीका मेयर कृष्णराज पण्डितले जानकारी दिए । उनका अनुसार यी संरचना बनाउन १ करोड एक लाख रुपैयाँको ठेक्का कुसुम निर्माण सेवाले लिएको हो । ‘अबको चार महिनामा निर्माण पूरा हुन्छ’, मेयर पण्डितले भने ।
गएको बैशाख ११ गते १० वर्षे अवधिको लागि फोहोरमैला व्यवस्थापनको त्रिपक्षीय सम्झौता भएको हो । शुक्लागण्डकीलाई सूर्य नेपालले २ करोड चार लाख रुपैयाँको लगानी दिनेछ । त्यसबाट पूर्वाधार निर्माणसँगै फोहोरमैला व्यवस्थापनका विभिन्न यन्त्रउपकरण खरिद हुनेछ । पूर्वाधार निर्माण सुरुआतसँगै सूर्य नेपालले यन्त्रउपकरण खरिदको प्रक्रिया पनि अगाढि बढाएको छ । शुक्लागण्डकीले फोहोर व्यवस्थापनको जिम्मेवारी ग्रिन रोडलाई दिएको हो ।
वर्गिकरण गरी छुट्याइएका पुनःप्रयोग हुने या प्रशोधन गर्न मिल्ने फोहोरलाई छुट्याई प्रशोधन गरी त्यसको आवश्यक व्यवस्थापन ग्रिन रोडले गर्ने सम्झौतामा उल्लेख छ । फोहर व्यवस्थापनलाई प्रभावकारी बनाई अन्त्यमा ल्याण्डफिल साइटमा पुर्दै मात्रा घटाउनेछ ।
शुक्लागण्डकीले घरघरबाट संकलन गरेको फोहोर संकलन केन्द्रसम्म ढुवानी गर्नुपर्ने शर्तमा सम्झौता भएको हो ।
आर्थिक वर्ष २०७४÷७५ को बजेटबाट शुक्लागण्डकी नगरपालिकाले कसेरीमा फोहोरमैला संकलनका लागि ट्रष्ट निर्माण गरेको हो । ट्रष्ट निर्माणका लागि २४ लाख ७० हजार ८५१ रुपैयाँ खर्च भएको छ । २०८०÷८१ मा पनि कम्पाउण्ड र ट्रष्ट निर्माणमा ५२ लाख ५९ हजार ५३ रुपैयाँ लगानी भएको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा फोहोरमैला संकलन केन्द्रसम्म पुग्ने सडक सञ्जालको स्तरोन्नती गर्न ५२ लाख रुपैयाँ खर्च भयो । यो वर्ष पनि नदी कटान रोक्नलाई काम भइरहेको छ ।
अघिल्लो कार्यकालका जनप्रतिनिधिले फोहोरमैला संकलन केन्द्र सञ्चालनमा ल्याउनै सकेनन् । एक पटक ठेक्का आह्वान भएपनि जनप्रतिनिधिकै विवादले सफल भएन ।
२०७९ मा निर्वाचित भएर आएका जनप्रतिनिधिले नगर सरसफाइ अवलोकनको नाममा हेटौंडा उपमहानगरपालिका, बाग्मति नगरपालिका भ्रमण भन्दै दुई लाख ९९ हजार २२९ रुपैयाँ स्वाहा बनाए । यो खर्च आर्थिक बर्ष २०७९÷८० को बजेटबाट भएको थियो । अर्को वर्ष तिलोत्तमा र वालिङ नगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समिति भ्रमणमा जादा ४६ हजार रुपैयाँ भुक्तानी भएको छ ।
करोडको लगानी गरेको फोहोरमैला संकलन केन्द्र सञ्चालन गर्न नसकेको शुक्लागण्डकीले सेती नदी किनारमा फोहोर फाल्दै आइरहेको छ । नदी किनारमा फालिएको फोहोरमा आगो लगाइदिदाँ हप्तैजसो बेलचौतारा र शुक्लागण्डकीबासी आजित छन् । एक समय त जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा परिसरमै फोहोर फालेर जलाएपछि निकै आलोचना भएको थियो ।
हरेक सार्वजनिक कार्यक्रममा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन गर्न नसकेको भन्दै सर्वसाधारणले मेयर, उपमेयर लगायतका जनप्रतिनिधिलाई प्रश्न छेड्दै आएका छन् । व्यवसायीक घरना सूर्य नेपाल र ग्रिन रोडसँग सम्झौता भएपछि शुक्लागण्डकीवासीमा आशाको सञ्चार भएको छ ।