म्याग्देमा प्रथम छङ्गेली कप वडास्तरीय भलिबल हुदै

दुलेगौंडा– प्रथम छङ्गेली कप वडास्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । म्याग्दे गाउँपालिका–४ र ५ को छाङ युवा सञ्जालको आयोजनामा वैशाख २६ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।

‘कला संस्कृति र खेलकुदको प्रबर्धन, हाम्रो गाउँ हाम्रो ठाउँ छाङ हाम्रो पहिचान’ भन्ने नाराका साथ वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी सञ्जालले प्रतियोगिताबारे जानकारी गराएको हो ।

रित्तिदै गएको छाङ गाउँको पुनजागरण गर्न र छाङको आन्तरिक पर्यटन प्रबर्धनका लागि प्रतियोगिता आयोजना गरिएको छाङ युवा सञ्जालका अध्यक्ष भक्तबहादुर गुरुङ (निशान) ले जानकारी दिए ।

प्रतियोगितामा १५ टिमको सहभागिता रहने अनुमान गरिएको छ । म्याग्देभित्रका वडालाई टिम दर्ताका लागि दुई हजार ५०० रुपैयाँ र बाहिरका टिमले रु पाँच हजार रुपैयाँ तिर्नुपर्नेछ ।

प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले एक लाख सहयोग गरेको छ भने अन्य दाताबाट सहयोगको प्रतिबद्धता व्यक्त भएको छ ।

प्रतियोगिता संयोजक गौरवराज रानाले अवसरको खोजीमा छाङका स्थानीय शहर झर्दै गएको र खेलकुदको माध्यमबाट गाउँ उक्लिने वातावरण सिर्जना गर्न खोजिएको बताए । उनले भने, ‘शिक्षा, व्यवसाय, रोजगारको खोजीमा स्थानीय शहर झरे, खेलकुदको माध्यमबाट गाउँ उक्लिने वातावरण बनाउन खोजेका हौं ।’

प्रतियोगिताको विजेतालाई एक लाख एक हजार रुपैयाँ र उपविजेतालाई रु ५० हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, सेमिफाइनलमा पराजित दुई टिमलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.