शुक्लागण्डकीमा एसईईकै मोडेलमा कक्षा आठको परीक्षा

दुलेगौंडा– शैक्षिकस्तर उकास्न तनहुँको शुक्लागण्डकी नगरपालिकाले कक्षा– ८ को परीक्षालाई एसईईकै मोडलमा सञ्चालन गरेको छ । आइतबारबाट सुरु भएको परीक्षालाई थप ब्यवस्थित बनाएर सञ्चालन गरेको हो ।

शिक्षक, विद्यार्थीको वास्तविक क्षमता पहिचान गर्न नगरपालिकाले एसईईकै मोडलमा परीक्षा सञ्चालन गरेको शिक्षा शाखा प्रमुख नवराज चापागाईले बताए ।

कक्षा ८ मा अध्ययन गर्ने सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरुलाई फरक विद्यालयमा परीक्षा केन्द्र बनाएको छ । परीक्षा केन्द्र रहेको विद्यालयको शिक्षकलाई केन्द्राध्यक्ष बनाइएको छैन । विषय विज्ञको उपस्थितीमा नगरपालिका आफैंले प्रश्नपत्र तयार पारेको शिक्षा शाखा प्रमुख चापागाईले बताए । ‘उत्तर पुस्तिका पनि नगरपालिकामै विषय विज्ञमार्फत जाँच गराएर नजिता प्रकाशन हुनेछ’, उनले भने ।

नगरपालिकाले विद्यार्थीहरुलाई पायक पर्ने गरी १० विद्यालयमा परीक्षा केन्द्र तोकेको छ । आगामी आइतबारसम्म चल्ने परीक्षाका लागि सरस्वति माध्यमकि विद्यालय थप्रेक, हंशवाहिनी मावि एक्लेखेत, पञ्चमुनीदेव मावि दुलेगौँडा, जनकल्याण मावि बेलचौतारा, खैरेनी मावि खैरेनीटार, सरस्वति नमुना मावि खैरेनीटार, गाउँफर्काेदय मावि ढोरफिर्दी, तालबेसी मावि घारी, जनप्रेमी मावि लामागाउँ र आधारभुत मावि साँखेमा परीक्षा केन्द्र रहेको शिक्षा शाखाका अधिकृत सुशिल नरालले बताए ।

यो बर्षका शुक्लागण्डकी नगरपालिकामा सामुदायिक विद्यालयका ६८२ र संस्थागततर्फका ४४३ गरि एक हजार १२५ विद्यार्थीले कक्षा आठको परीक्षा दिईरहेका छन् । नगरपालिकाले विगत सात बर्षदेखि कक्षा आठको परिक्षा आफैंले सञ्चालन गर्दै आएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.