पोखरा
धादिङ पोखरा सम्पर्क समाजले कास्की नेत्रहीन संघ कास्कीलाई सेतो छडी सहयोग गरेको छ ।
समाजको १३ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको पदस्थापनसँगै पहिलो कार्यक्रमअन्तर्गत सेतो छडी वितरण गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका–२६ का वडा सदस्य सुदीपराज ढुंगानाले सामाजिक क्षेत्रमा धादिङवासीले खेलेको भूमिकाको प्रशंसा गरे ।धादिङवासीको दुःख, सुखमा आफू सधैँ साथमा रहने उनले प्रतिवद्दता जनाए ।
नेत्रहीन संघका श्रीकान्त सापकोटाले धादिङवासीको गुन आफूहरुले कहिल्यै नभुल्ने बताए । सबैको मायाकै कारण संघ अघि बढेको भन्दै उनले संस्था सञ्चालन गर्न अझै चुनौति रहेको उल्लेख गरे । धादिङवासी कास्कीका हरेक क्षेत्रमा छरिएर रहेकोले उनीहरुको हृदय निकै फराकिलो रहेको आफूले पाएको उनले उल्लेख गरे ।
समाजका पूर्वअध्यक्ष कृष्णबहादुर लम्सालले धादिङ समाज र नेत्रहीन संघबीच आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको बताए।
समाजका अध्यक्ष सरस्वती श्रेष्ठ सरुले यो सहयोग पूर्ण नभइ अभियान मात्र भएको र यसले अन्य व्यक्ति र संघसंस्थालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।
समाजका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष टीकाबहादुर लम्साल दिनेशले स्वागत र महासचिव प्रकाश दुलालले कार्यक्रम सञ्चालन गरेका थिए ।