‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा, पर्यटकको औसत बसाँइ ३ दिन पुर्‍याइने

दुलेगौंडा– ‘पहाडकी रानी’ उपमाले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरिएको छ ।

पर्यटन प्रवर्द्धन मार्फत बन्दीपुरमा नयाँ पर्यटन गन्तव्य पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको हो ।

भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिवालय समेत गठन गरेको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार सचिवालयमा होटल संघ, रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान), पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघ लगायतको प्रतिनिधित्व छ ।

‘प्राकृतिक एवं सांस्कृतिक सम्पदाहको संरक्षण एव विकास गर्दै जिम्मेवार पर्यटन क्रियाकलापका माध्यमबाट समृद्ध एवं सुसंस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमन संख्या वार्षिक २ लाख पुर्‍याउने उद्देश्य सहित बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको हो,’ अध्यक्ष थापाले भने ।

सचिवालय संयोजक गुरुङका अनुसार भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रवर्द्धन गरी पर्यटक संख्या दोब्बर बनाउने गरी योजना बनाइएको छ ।

‘भ्रमण वर्षमा वार्षिक १ लाख आन्तरिक र १ लाख विदेशी पर्यटक बास बस्ने गरी ल्याउने योजना बनाएका छौं,’ उनले भने, ‘भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक ८ लाख पर्यटक बन्दीपुर ल्याउने लक्ष्य छ ।’

गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ ३ दिन पु¥याइने छ । साथै, विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक ३ हजार रुपैयाँ पुर्‍याइने छ ।

हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार होमस्टे ९घरबास० साथै समग्र गाउँपालिकामा १ सय २० होटल र १२ होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक १ हजार ७ सय अट्ने क्षमता छ ।

यसका लागि आवश्यक पूर्वाधार निर्माण, नयाँ गन्तव्य पहिचान, विकास र प्रवर्द्धन गरिने छ । भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सिर्जना, होटल तथा रेस्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गरिने उनको भनाइ छ ।

‘भ्रमण वर्षमार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किट प्रवर्द्धन गरिने छ भने विद्यमान पर्यटन केन्द्र र उपजका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्य पहिचान, विकास र प्रवर्द्धन गरिने छ,’ उनले भने ।

भ्रमण वर्षमार्फत यहाँको सांस्कृतिक सम्पदा संरक्षण सहित याम अनुसार प्याकेज तयार गरिने छ भने सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटन सर्किट प्रवर्द्धन हुने अपेक्षा रहेको पर्यटन विज्ञ तथा सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङले बताए ।

भ्रमण वर्षमा पर्यटक आकर्षित गर्न पर्यटकको उमेर र रुचि अनुसार प्याकेज निर्माण गर्नुका साथै ‘गाउँमै कमाऔं गाउँमै रमाऔं’ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता पनि बढाइने गाउँपालिकाको लक्ष्य छ ।

भ्रमण वर्ष सफल पार्न कूल ४ करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । अनुमानित खर्च विवरणमा संघ, प्रदेश र स्थानीय सरकारका साथै अन्य विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाबाट अपेक्षा गरिएको प्रतिबद्धता समेत राखिएको छ । साथै, नेपाल सरकारको बन्दीपुर गाउँपालिका अन्तर्गत नियमित कार्यक्रम पनि समावेश गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.