दुलेगौंडा- पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले वृद्धाश्रमलाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।
गुरुङ समुदायको पर्व ल्होसार तथा पुस पन्ध्रको अवसर पारेर विद्यार्थीले पोखरा महानगरपालिका- १७ सितापाइलामा रहेको पोखरा वृद्धाश्रमलाई दश हजार रुपैयाँ बराबरको खाद्यन्न सहयोग गरेका हुन् ।
कास्कीको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्चको रकम बचाएर सहयोग गरेका हुन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाश्रमलार्ई सहयोग प्रदान गरेको संयोजक तथा विद्यार्थी गुणस्तर सर्कलका अध्यक्ष मनोज बरालले जानकारी दिए । ‘विद्यार्थीले थोरै–थोरै रकम संकलन गरेर समाजसेवामा जोडिएका हौं’, उनले भने ।
पारिवारिक वातावरणमा अध्ययन/अध्यापन हुने यस क्याम्पसमा शैक्षिक पाठ्यक्रमका अलावा व्यवहारिक ज्ञान सिकाइन्छ । सामाजिक भावना विकास गर्न आफूहरु सफल भएको भन्दै क्याम्पस प्रमुख शिशुकला पराजुलीले विद्यार्थीको सामाजिक जिम्मेवारीको बोधको प्रशंसा गरेकी छन् ।
विद्यार्थीले आश्रमका सूचना अधिकारी तथा स्वास्थ्य प्रमुख सिद्धिकुमार रेग्मीलाई सहयोग स्वरुप सामग्री हस्तान्तरण गरेका हुन् । रेग्मीले सेवा भाव नै ठूलो धर्म भएको भन्दै सहयोगको लागि विद्यार्थीलाई धन्यवाद दिए ।
२०५३ मा स्थापना भएको पोखरा वृद्धाश्रममा हाल ४४ जना असहाय तथा जीवनको उत्तर्राद्धमा पुगेकाका लागि साहारा बनेको छ ।