पोखरा
पोखराको फेवातालमा सुरु ड्रागन बोटरेश फेस्टिबलमा आइतबार अन्तिम आठ समूहको टुंगो लागेको छ । दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोटरेश प्रतियोगितामा दुवै विधामा अन्तिम आठ प्रतिस्पर्धी समूहको टुंगो लागेको हो ।
२०० र ५०० मिटरमा भएको प्रतिस्पर्धामा ८÷८ समूह फाइनलका लागि प्रवेश गरेका छन् । दुवै विधामा चिनियाँ समूहले वर्चस्व राखेका छन् । २०० र ५०० मिटरको प्रतिस्पर्धामा नेपाली १÷१ समूहले फाइनल खेल्ने भएका छन् ।
५०० मिटरतर्फ चाइना छिझ्याङ लिन्झी ड्रागन बोट, लियाओचेङ युनिभर्सिटी, सिचुवान लुझाउ ड्रागनबोट, पोखरा महानगरपालिका, युनान नर्मल युनिभर्सिटी, डोङगुआन लेओयु क्लब ग्वाङडोङ, वुहान स्पोर्टस युनिभर्सिटी र युनान मिन्जु युनिभर्सिटीको समूहले अन्तिम आठमा स्थान पक्का गरे ।
२०० मिटरतर्फ वुहान स्पोर्टस युनिभर्सिटी, हुवेई युनिभर्सिटी अफ इकोनोमिक्स, लियाओचेङ युनिभर्सिटी, नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा), युनान मिन्जु युनिभर्सिटी, डोङगुआन लेओयु क्लब ग्वाङडोङ, , सिचुवान लुझाउ ड्रागनबोट, युनान नर्मल युनिभर्सिटीको समूहले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
सोमबार फाइनल खेल हुनेछ । दुई समूहमा बाँडेर ४/४ टोलीबीच प्रतिस्पर्धा हुनेछ । समयको आधारमा विजेता घोषणा गरिनेछ ।
२०० मिटर र ५०० मिटर दुरीमा हुने प्रतिस्पर्धाको विजेता समूहले समान ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । उपविजेताले २ हजार डलर र तेस्रोले १ हजार २००ड लर पुरस्कार प्राप्त गर्नेछन् ।
सहभागी १७ समूहलाई प्रतिसमूह ५ सय डलर प्रदान गरिने छ । ड्रागन बोटरेशमा सहभागी हुने चीनियाँ खेलाडी, प्राविधिक र पाहुनासहित १२९ जनालाई बोकेर सिचुवान एयरलाइन्सको विमानको चार्टर उडान मार्फत पोखरा आएको थियो ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा फेस्टिभल भएको हो ।
प्रतियोगितामा २० समूहले सहभागिता जनाएका थिए । आयोजकका अनुसार नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० समूह सहभागी भएका हुन् ।