तनहुँ– पहराको ढुंगामा खोपेर बनाइएको स्नेही आमाको काखमा सन्तानको आकृति । लोभ्याउने परी । गणेश भगवानका शीरबाट बग्छ ऐना पहरा झरना ।
तिनै दृश्य आँखा ठोक्किएपछि पृथ्वी राजमार्ग हुँदै हुँइकिने सवारीको ब्रेक झ्याप्पै लाग्छ । सवारी रोकेर यात्रुहरु केहीबेर टहलिन्छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिका ४ मा पर्ने ऐनापहरामा पहाडका ढुंगा कुँदेर आकृति बनाएपछि पर्यटकलाई निकै लोभ्याइरहेको छ।
बर्खाको बेलामा झरना हेर्न पर्यटक लोभिएपनि हिउँदमा सुनसानप्राय हुन्थ्यो ऐनापहरा । आँबुखैरेनी गाउँपालिकाले पूर्वाधार निर्माणलाई जोड दिएपछि हिउँद बर्खा नै पर्यटक लोभिएका हुन् ।
पर्यटकको चाप बढेपछि गाउँपालिकाले ५० रुपैयाँ प्रवेश शुल्क तोकेको छ । विद्यार्थी, अपांग अशक्त र ज्येष्ठ नागरिकले भने ३० रुपैयाँमा प्रवेश पाउनेछन् ।
साहसिक पर्यटनको केन्द्र बनाउने उदेश्यले पूर्वाधार निर्माणको काम भइरहेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । ‘पहाडमा गर्न सकिने सहासिक गतिविधि जोड्दै लैजानेछौं हामीले’, उनले भने ।
गाउँपालिकाले झरनासम्म पुग्ने आकर्षक पदमार्ग, ढुंगा कुँदेर आकृति, रेष्टुरेन्ट लगायतका पूर्वाधार तयार भएको उनको भनाइ छ । पिङ र स्काइवाक निर्माणको काम भइरहेको अध्यक्ष चुमानले जानकारी दिए । उनले भने, ‘रक क्लाइम्बिङको काम पनि हुँदैछ । यो वर्षको अन्त्यसम्म एडभेन्चर सेन्टर बन्छ ।’
ऐनापहराको विकासका लागि झन्डै १२ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइएको छ । गाउँपालिकाले अहिले आफ्नो स्रोतले भ्याउनेसम्मको बजेटले पूर्वाधार बनाइरहेको हो । निजी क्षेत्रसँग पनि सहकार्य गरेर थप पूर्वाधार निर्माण गर्ने गाउँपालिकाको योजना छ ।