तनहुँ
छात्र छात्राका लागि छुट्टै लाइन । लाइनबाट पालैपालो विद्यार्थी आफ्नो मतदाता नामावाली जाँच गर्न पुग्छन् । त्यहाँ खटिएका कर्मचारीले नामावाली फेला परेपछि मतदान गर्न बुढीऔंलोको नङमा मार्करले रङ लगाइदिन्छन् । त्यसपछि मात्रै मतदाताले मतपत्र पाउछन् । गोप्य तरिकाले मतपत्रमा स्वस्तिक चिह्न लगाएर मतपेटिकामा मत खसाल्छन् । जहाँ मतदान अधिकृत, सहायक मतदान अधिकृतसँगै सुरक्षाकर्मीपनि खटिएका छन् ।
आम निर्वाचनकै झल्को दिने गरेर भएको यो मतदान प्रक्रिया विद्यार्थीले विद्यालय नायक र सहनायक छान्नलाई हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा रहेको तालबेसी माविले विद्यार्थीलाई मतदाता शिक्षा दिनलाई शुक्रबार मतदान प्रक्रियाबाटै विद्यालय नायक र सहनायक छनोट गरेको हो ।
चुनावी मैदानमा नायकका लागि २ र सहनायकमा ३ जना होमिएका थिए । कक्षा ३ देखि १० सम्मका ३२९ जना मतदात हुन् । त्यसमध्य ३०९ मत खसेको छ ।
विद्यालय नायकमा लालीगुराँस चिह्न लिएर निर्वाचनमा होमिएका रितेश क्षेत्री २११ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी सगरमाथा चिह्न लिएका सौरभ थापाले ९६ मत पाए । २ मत बदर भएको थियो ।
विद्यालय सहनायकमा गैंडा चुनाव चिह्न लिएर उठेकी प्रतिक्षा पाठक २०० मतसहित निर्वाचित भइन् । सहनायकमा हात्ती चुनाव चिह्न लिएकी निलम गुरुङले ७७ र गाइ चिह्न पाएकी काजल केसीले २८ मत पाएकी हुन् । विद्यालय सहनायक पदमा खसेको ४ मत बदर भएको छ ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मी, कर्मचारी सबैको भूमिका कक्षा ११ का विद्यार्थीले निभाए ।
विद्यार्थीले इच्छाएको व्यक्तिलाई नायक चयन गर्नलाई मतदान प्रक्रिया भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजकसमेत रहेका शिक्षक दामोदर रेग्मीले बताए । रेग्मीका अनुसार नेतृत्व विकाससँगै चयनका लागि गतवर्षदेखि मतदान प्रक्रिया अपनाइएको हो ।
‘साप्ताहिक रुपमा नै निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै विद्यार्थी नै परिचालन गरेर प्रक्रिया पूरा ग¥यौं’, उनले भने ।
सामाजिक शिक्षामा भएको सैद्धान्तिक विषयलाई प्रयोगात्मक तरिकाले प्रस्तुत गरेको शिक्षक सुवास चापागाईं बताउँछन् । ‘निर्वाचनमा क–कस्को भूमिका रहन्छ ? यसमा मतदाताले कसरी मत दिन्छन् ? मत बदर कसरी हुन्छ ? निर्वाचित भएर गएका प्रतिनिधिको भूमिका के रहन्छ भनेर नायक र सहनायक छनोट गरेर सिकाइएका छौं’, उनले भने । निर्वाचित भएका नायक र सहनायकले वर्ष दिनसम्म शैक्षिक गतिविधि, खेलकुद, साँस्कृति कार्यक्रममा समन्वयकारी नेतृत्वको भूमिका निर्वाहा गर्ने उनको भनाइ छ ।
मतदान अधिकृत बनेकी कक्षा ११ की कविता विकले विद्यार्थीमा नेतृत्व क्षमताको विकास गराएको बताउछिन् । ‘निर्वाचन प्रक्रियाको व्यवहारिक ज्ञान दिइएको छ’, उनले भनिन् ।
सहायक मतदान अधिकृत रेजिना क्षेत्रीले गोप्य रुपमा मतदान गर्ने व्यवस्था मिलाएको बताइन् ।