एक्लेडाँडामा बुद्ध प्रतिमा बनाउन ‘शान्तिका लागि श्रम’


तनहुँ–
हातमा कुटो, कोदालो, साबेल, बेल्चा र हसियाँ । कोही ढुंगामाटो उठाउदै त कोही झाँडी फाड्दै । हातमा हात मिलाएर समूहमा रमाउदै काम गर्दै । श्रम गर्नुपरेकोमा दुखेसो कसैको थिएन । सबैजसो मुस्कानका साथ श्रमदान गर्दै थिए । किनकी नारा नै थियो, ‘शान्तिका लागि श्रम ।’
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा विश्व शान्तिको कामनासहित श्रमदान गरिएको छ । शान्तिका दूत गौतम बुद्धलाई स्मरण गरेर मनाइने २५६९ औं बुद्धजयन्तीको पूर्वसन्ध्यामा श्रमदान गरिएको हो ।

एक्लोडाँडोलाई पर्यटकीय गन्तव्य बनाउने उदेश्यले २९ फिट अग्लो बुद्ध प्रतिमा निर्माणमा जुटेको गुरुङ मगर साँस्कृतिक एकता समाजले श्रमदानको तारतम्य मिलाएको छ । बिहीबार विहानदेखि सुरु भएको श्रमदान शुक्रबार र शनिबार विहान पनि चल्नेछ ।

शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, ८ र ९ मा बसोबास गर्ने २३ वटा मगर समाज र १३ वटा गुरुङ समाजका सदस्यले श्रमदान गर्नेछन् । बुद्ध प्रतिमा निर्माणस्थलमा सबैलाई अपनत्व महसुश गराउन श्रमदान आयोजना गरेको गुरुङ मगर साँस्कृतिक एकता समाजका अध्यक्ष मनराज गुरुङले बताए । बुद्ध प्रतिमास्थलसँग भावनात्मक सम्बन्ध गाँस्ने काम श्रमदानले गरेको उनको भनाइ थियो । ‘राजमार्गबाट हेर्दा पनि त्यहाँ बुद्धको प्रतिम बन्दैछ । मेरो पनि योगदान जोडिएको छ भन्ने भावनात्मक नाता जोडिन्छ । श्रमदान गर्दैमा भयंकर ढुंगामाटो पन्छाएर कायापलट हुने अपेक्षा होइन । तर, कम्तीमा अपनत्व हुन्छ’, उनले भने ।

शान्तिका लागि श्रमको भावना पैदा गराउन आवश्यक रहेको अध्यक्ष गुरुङ बताउछन् । बुद्ध प्रतिमा नयाँ पुस्तालाई चिनो बनाउन खोजेको उनले सुनाए ।‘यो गुरुङ मगर समुदायको एकताको प्रतिकको रुपमा चिनो रहन्छ । अग्रजहरुको एकताले काम भएको रहेछ भनेर सन्देश दिन चाहान्छौं’, उनले भने ।

एक्लोडाँडामा बुद्धप्रतिमा निर्माण गर्न ६० लाख रुपैयाँको डिपआर तयार गरेको समाजका सचिव अमरराज थापाले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष बुद्ध पूर्णिमाको दिन एक्लोडाँडोमा बुद्ध प्रतिमा निर्माणस्थलमा भूमिपुजन गरिएको थियो ।

कोरोनाको कहरदेखि एक्लेडाँडामा स्थानीय पर्यटकको पदचाप बढेको हो । निषेधाज्ञाको बेला सामाजिक सञ्जाल फेसबुक, टिकटकमा भाइरल बनेपछि पर्यटक उक्लन थालेका थिए ।

पहिला पुल्चोकमा रहेका तिब्बतीयन शरणार्थीले हरेक वर्ष बुद्ध जयन्तीको दिनमा डाँडामा उक्लिएर धुपबत्ती बाल्थे । तिब्बतीयन शरणार्थीले पवित्र थलो मानेर पूजा गर्ने डाँडैभरी झिलीमिली ध्वजापतका टाँगिएको छ । जसले आगन्तुक पर्यटकलाई फहराउदै स्वागत गर्दछ ।

सधैँ दुलेगौँडा शहरको व्यस्ततालाई नियाल्दै एक्लै रहने एक्लेडाँडामा त्यही शहरका व्यस्त मान्छेहरु साँझ विहान टहलिन पुग्छन् । मौसम खुल्दा यहाँबाट देखिने हिमालको लर्कनसँगै नागबेली चालमा बगेको सेती र सुरौदीको दृश्य रोमाञ्चक देखिन्छ । सुशेली हाल्दै बतासले साउती मार्छ ।

पर्यटक बढेसँगै शुक्लागण्डकी नगरपालिका र वडा कार्यालयले पदमार्ग र शौचालय भने निर्माण गरिसकेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.