ढोरवराही मन्दिरमा एकैदिन ५ हजार दर्शनार्थी आए

दुलेगौंडा
तनहुँको प्रसिद्ध ढोरवराही मन्दिरमा नयाँ वर्षको दिन दर्शनार्थीको घुँईचो लागेको छ । मन्दिरमा विहानैदेखि दिउँसो २ बजेसम्म दर्शनार्थीको घुँइचो लागेको हो ।
सोमबार झन्डै पाँच हजार भक्तजनले मन्दिरमा पुजाअर्चना गरेको शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर थापाले बताए । मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङजा, लमजुङ लगायत स्थानबाट भक्तजन आएका हुन् ।
गत वर्षको तुलनामा भने दर्शनार्थीको संख्या घटेको छ । ‘पोहोर दिनैभर दर्शनार्थीको भीडभाड थियो । यसपालि दुई बजेपछि नै कम भयो’, उनले भने । गत वैशाख १ गते ८ हजार बढी भक्तजन ढोरवराही मन्दिर आएका थिए ।
मन्दिरमा सहज पूजाअर्चनाको व्यवस्था मिलाउन विहानैदेखि मन्दिर व्यवस्थापन समिति खटिएको थियो । व्यवस्थापनका लागि एक हप्तादेखि नै तयारी गरेको वडाध्यक्ष थापाले बताए । ‘भक्तजनलाई सहजताको लागि लाइनको व्यवस्थापन, पानी, स्वास्थ्य डेस्कसँगै स्वयमसेवक खटायौं’, उनले भने ।
शुक्लागण्डकी– ९ बाजस्थलामा जंगलले चारैतिर घेरिएको पहाडको बिचमा मन्दिर रहेको छ । मन्दिर परिसरको करिब १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुइजोर शिला छन् । पोखरीमा छुट्ने रहस्यमय लहरी (पानी घटबढ) हुनुले ढोरबाराही मन्दिरप्रतिको आस्थालाई बढाएको हो । ढोरवराही माता प्रसन्न हुदाँ लहरी छुट्ने धार्मिक कथन छ । मन्दिरमा चल्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रुपमा लिइने गरिन्छ । पोखरीमा डुबुल्की मार्दा नबोल्ने बालबालिकाको बोली फुट्ने विश्वास गरिन्छ ।

मन्दिरमा नयाँबर्षको दिन, बैशाख महिनाभर, बडादशैँ, चैतेदशैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमि र हिउदयाम विशेष पुजाअर्चनाका लागी दर्शनार्थीको अत्याधिक भिड लाग्ने गर्दछ । एकादशी, औँसी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर मन्दिरमा पशुवली दिइदैन् । यो समयमा भने मन्दिरमा विभिन्न प्रकारका पुजापाठ गर्ने गर्ने गरिन्छ । मन्दिरमा बोका, राँगाको वली दिइन्छ भने परेवा उडाउने प्रचलन छ ।
मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घण्टाहरुमध्ये एउटा घण्टामा नेवारी भाषामा नेपाल संवत ९६७ लेखिएको छ । यसैको आधरमा पनि मन्दिर निकै पूरानो भएको जानकारहरु दाबी गर्छन् ।
ढोरवराही मन्दिरलाई भगवान् बिष्णुको तेस्रो अवतारका रुपमा लिने गरिन्छ । धार्मिक पर्यटनको निकै सम्भावना बोकेको भएपनि मन्दिरको प्रचारप्रसार र प्रर्बद्धन भने खासै हुन सकिरहेको छैन ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.