दुलेगौंडा–तपाई काम गर्नुप¥यो भने कत्तिको खुशी हुनुहुन्छ ? अझ माटोसँग पैठेजोरी खेल्दै धूलोमैलो हुनुपर्दा कस्तो महशुस गर्नुहुन्छ ?
हिराबहादुर थापा माटोसँग खेल्ने भने हुरुक्कै हुन्छन् । विहानदेखि साँझ घाम नढल्दासम्म उनी मितेरी गाँस्दै माटोको सुगन्धमा रमाउछन्, हराउछन् । अंकुराएका तरकारीका विरुवालाई सन्तानलाई जस्तै माया गरे हुर्काउछन् । लहरामा फूलेका÷फलेका वालीलाई सुम्सुम्याएर थाक्दैनन् । फलेका तरकारी टिपेर बजार पु¥याएर थाक्दैनन् ।
चैत बैशाखको बेला तनहुँको भीमाद नगरपालिका–९ पाइमीवासीलाई खानेपानीको जोहो गर्नलाई सकस नै हुन्छ । दुई तीन दिन बिराएर आएको पानी नपु¥याए पँधेरीमा जानुपर्छ । हिराबहादुरले त्यही गाउँमा जुकुने फर्सी र गोलभेडा फलाएर बजारमा पु¥याइसके । काँक्रो, करेला, अकबरे खुर्सानी, फर्सी सिंचाई पाएर मख्ख हुँदै फूल्दैछन् ।
घिरौला, बोडी, सिमी, चिप्ले भिन्डीका विरुवा हर्लक्क बढ्दैछन् । खानेपानीको जोहो गर्नै धौं हुने गाउँमा तरकारी खेती गर्न कसरी सम्भव भयो होला ? तपाईलाई पक्कै लाग्न सक्छ । हो, हिराबहादुरलाई चैतमासको खडेरीमा पनि माटोलाई सिञ्चित गर्न पानीको समस्या छैन ।

४० हजार लिटर पानी अट्ने क्षमताको प्लाष्टिकको पोखरी निर्माण गरेका छन् । बर्षातको पानी पोखरीमा संकलन हुन्छ । र खडेरीमा पनि निरन्तर सिँचाई गरेर उनले तरकारी फलाउन सफल भएका हुन् । बेमौसममा फलेका तरकारीले बजार नपाउने चिन्ता हुदैन । गाउँबाट बजारसम्म पनि झनुपर्दैन । त्यसलै त उनी भन्छन्, ‘माटोमा खेल्न एकदम खुशी लाग्छ । घण्टा, दिन गएको थाहै हुदैन । जिन्दगीमा एकदम खुशी छु ।’
५८ वर्षीय हिराबहादुर काठमाडौं, शुक्लागण्डकी हुँदै गाउँ उक्लिएका छन् खेती गर्नलाई नै । पहिला उनी धन कमाउन परिवार छाडेर विदेशिए । मरुभूमी उनलाई ‘फापेन’ । भनेजस्तो कमाई गर्न नसकेपछि उनी देशमै फर्किए ।
विदेश छाडेर देश फिरेका उनले २५ वर्ष पहिले काठमाडौंको थानकोटमा परिवार पाल्नकै लागि खेती किसानी सुरु गरे । न अनुभव थियो न त पर्याप्त लगानी । श्रवणशक्ति कमजोर भएपनि हिराबहादुरले इच्छाशक्तिको पहाड अग्लाए । माटोमा पानी र मल मिसाएर जिन्दगीलाई फूलाउने प्रण गरे ।
तीन दिने कृषि तालिम लिएर गोलभेंडा खेती सुरु गरेका उनको कृषि गुरु रेडियोमा बज्ने ‘कृषि कार्यक्रम बन्यो । ‘अहिले त युट्युबमा आउँछ । पहिला रेडियोमा कार्यक्रमहरु आउथे । रेडियो सुनेर काउली, बन्दा, केराउ लगाउन थाले’, उनी भन्छन्, ‘पछि त सिक्दै करेला, घिरौंला फलाएं । मेरा बालबच्चाहरुलाई यसैबाट पढाउन सकें ।’

चार छोराछोरीलाई तरकारी बेचेर पढाएका उनी अहिले गाउँ उक्लिएका हुन् । दुई छोराछोरी विदेशमा छन् । बिरामी श्रीमति र एक छोरा काठमाडौंमै बस्छन् । राजधानीमा जग्गा भाडा चर्को भएपछि उनी तनहुँकै शुक्लागण्डकीमा आएर ४ वर्ष खेती गरे । त्यहाँ अत्याधिक गर्मीका कारण गोलभेंडा राम्रो नफलेको कारण गाउँ आएको हिराबहादुर सुनाउँछन् । पहिला गाउँमा परीक्षण गरे, गोलभेंडा राम्रो फल्यो । त्यसपछि उक्लिए सीप र इच्छाशक्ति बोकेर ।
एक्लै गाउँ उक्लिएका उनी बाँझिएको ७ रोपनी जग्गामा दुई वर्षदेखि तरकारी फलाइरहेका छन् । पोहोर साल तरकारीमा हाल्ने पानीको अभाव निकै खेपेका उनले पाठ सिके । लाग्यो पोखरी त चाहिन्छ । भर्खर गाउँमा लगानी सुरु गरेका उनले छोरीछोरीसँग पोखरी बनाउने पैसा मागे । ‘बच्चाहरुलाई भने एउटा पोखरी बनाउन पर्छ की पैसा चाहियो । पोखरी बनाएको छु प्लाष्टिक राखेर’, उनी भन्छन्, ‘माघसम्म धाराको सदुपयोग गरेर खपत भइराथ्यो । फागुन लाएपछि मौज्दात गरेको पानी प्रयोग गरेको छु ।’

तरकारीलाई सिंचाईसँगै चाहिने मलका लागि आफैंले बस्तुभाउ पालेका छन् । अपुग भए गाउँबाट ल्याउने उनले सुनाए । गाउँ फर्केर सुरुआतमा उनले तरकारी खेती गर्न डेढ लाख रुपैयाँ लगानी गरेको जानकारी दिए । यो वर्ष उनले तरकारी बेचेर तीन लाख रुपैयाँ बढी कमाएका छन् । खर्च निकै कम छ । मल बोक्नबाहेक ज्यालामा काम नलगाउने उनले उल्लेख गरे ।
कमाईभन्दा पनि उनले आफूलाई खुशी बनाएका छन् रे । ‘मेरो बच्चाहरुले पनि बाबा माटोमै खुशी छ । त्यै भएर माटोमै खेलिराखेको छ, जिन्दगी गुजारिरहेको छ भन्छन्’, मुस्कुराउँदै हिराबहादुर सुनिन्छन्, ‘माटोमा खेल्दा एकदम खुशी लाग्छ । किनभने समय, दिन महिना गाको थाहा हुदैन । आफ्नो जिन्दगीसँग एकदम खुशी छु ।’ उनकै शब्दमा भन्दा काम गर्न नपाए उनलाई टेन्सन हुन्छ । जब माटोसँग खेल्छन् तब टेन्सन दूर हुने हिराबहादुरले सुनाए ।

कुराकानीकै क्रममा विदेशको दुख र स्वदेशमा गरेको दुखलाई दाँज्छन् । निष्कर्ष निकाल्छन्ः ‘देशमा त कति हो कति सुख छ ।’ किन ? ‘यहाँ सुख छ । किनकी त्यहाँ अर्काको अधिनमा हिँड्नुपर्छ । यहाँ आफ्नो अधिनमा बाँच्न पाइन्छ’, वार्तालापमा उनको जवाफ थियो, ‘त्यस्तो गर्मी ठाममा काम नगरी भएन । गरेन भने भोलीपल्ट नै टिकट काटेर पठाइदिन्छ । यहाँ त आफ्नो खुशी भयो । कसैको लक्काझक्का छैन ।’
तरकारी खेतीलाई बढाउने सोंचमा रहेका हिराबहादुरले बंगुर पालन पनि सुरु गरेका छन् । ‘कुहिने, छिप्पिएको तरकारी खेरा जादैन । त्यो बंगुरले खान्छ । बंगुरको मल हुन्छ’, उनले सुनाए ।
तरकारी खेतीको क्षेत्रफल विस्तारमा हौस्एिका हिराबहादुर बजारको अभाव देख्दैनन् । ६ वर्षमा उनले बजारमा सम्बन्ध बढाएको बताउछन् । ‘भीमाद नभए दुलेगौंडा । दुलेगौंडा नभए खैरेनीमा बिक्छ’, उनी भन्छन्, ‘गोलभेंडा र केही तरकारी त गाउँमा खपत हुन्छ । किनकी बजारबाट किनेर ल्याउनुपर्ने हुन्छ । उतबाट ल्याउनुभन्दा १० रुपैयाँ कम लियो भने आफैंलाई नाफा हुन्छ ।’ गाउँमा सबैले एउटै खेती गर्न थाले मात्रै बजारको समस्या आउन सक्ने उनको अनुमान छ । बजारको चक्र मिल्ने गरेर गाउँमा कृषि कर्म अपनाउनुपर्नेमा उनको जोड छ । सबै किसान सबै उपभोक्ता हुदाँ समस्या नहुने उनको तर्क हो ।
