दुलेगौंडा– तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेको फिरफिरे स्वास्थ्य चौकीले एम्बुलेन्स पाएको छ । सूर्य नेपाल प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको हो ।
मंगलबार सूर्य नेपालले एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तानतरण गरेको छ । एम्बुलेन्स सूर्य नेपालका कारखाना प्रमुख बाबुराम कार्की, मानव संशाधन विभाग प्रमुख अञ्जन दुवाडीले गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतमार्फत वडाध्यक्ष इन्द्र गुरुङलाई एम्बुलेन्स हस्तानतरण गरेका छन् । करिब २२ लाख रुपैयाँ मूल्यको बि टाइप एम्बुलेन्स दिइएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य महतले स्वास्थ्य संवेदनशील विषय भएको बताए । एम्बुलेन्सलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । तत्काल बिरामीको उद्वारका लागि हेलिप्याड निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
कम्पनीका मानव संसाधन विभाग प्रमुख अन्जन ढुवाडीले कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आइरहेको बताए । एम्बुलेन्सको सेवालाई प्रभावकारी ढंगले सञ्चालन गर्न उनको सुझाव छ ।
वडाध्यक्ष इन्द्र गुरुङले सहयोग एम्बुलेन्स सन्चालन दीर्घकालीन बनाउने प्रतिबद्धता जनाए । कार्यक्रममा वडासदस्य मनबहादुर कुवँर र कम्प्युटर अपरेटर इन्द्रप्रसाद पौडेलले लगायतले बोलेका थिए ।