पोखरा
चौंथो संस्करणको ऋषिङ म्याराथनको उपाधि आर्मीका धावक होमलाल श्रेष्ठले जितेका छन् ।
शनिबार तनहुँको ऋषिङ गाउँपालिकाले आयोजना गरेको म्याराथनमा निर्धारित ४२.२ किलोमिटरको दूरी २ घण्टा ५७ मिनेट ४४ सेकेन्डमा पार गर्दै श्रेष्ठ च्याम्पियन बनेका हुन् । श्रेष्ठले उपाधिसँगै ६५ हजार रुपैयाँ हात पारेका छन् ।
नेपाल आर्मीका राजन मेयोङबा उपविजेता भए । उनले २ घण्टा ५९ मिनेट ३६ सेकेन्डमा दूरी पूरा गरेका हुन् ।
आर्मीकै जुनेश खड्काले २ घण्टा ५९ मिनेट ५९ सेकेन्डमा दौड पूरा गरेर तेस्रो स्थान हासिल गरे ।
मेयोङबा र खड्काले क्रमशः ४० हजार र २५ हजार रुपैयाँ हात पारेका छन् ।
नवलपुरका रिखुलाल सिंजाली मगरले ३ घण्टा १२ मिनेट १ सकेन्डमा दूरी पूरा गरेर चौंथो स्थान हात पार्न सफल भए । उनले १० हजार रुपैयाँ जितेका छन् ।
ऋषिङको प्रवेशद्वार धारुङदेखी सुरु भएको दौड दुबुङ भ्युटावरमा पुगेर सकिएको हो ।
गाउँपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रबर्द्धनका लागि म्याराथनको आयोजना गर्दै आइरहेको छ ।
गत संस्करणमा आर्मीका गोविन्द कार्की च्याम्पियन बन्दा दोस्रो तेस्रोमा पनि आर्मीकै धावकको वर्चस्व कायम रह्यो ।