सर्वसाधरणको जनजीवनमा सकारात्मक परीवर्तन ल्याउन दृढ छौंः मुख्यमन्त्री पाण्डे

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वसाधरण नागरिक जनजीवनमा सकरात्मक परीवर्तन ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । विकास, नीति र सुशासनसहित जनविश्वासलाई बढोत्तरी गर्दै नागरिकसामु देखिने, सुनिनेसँगै महसुस गर्ने गरि गण्डकी प्रदेश सरकारले आफूलाई स्थापित गर्ने मार्गमा अघि बढिरहेको उनको भनाइ थियो ।

मंगलबार गण्डकी प्रदेश सभाको स्थापना दिवसमा बोल्दै मुख्यमन्त्री पाण्डेले बलियो शासकीय आधार निर्माण गरी राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै नागरिकका चाहना परिपूर्तिका लागि गण्डकी प्रदेश सरकार क्रियाशील रहेको उल्लेख गरे । ‘सीमित स्रोत र साधनको दायरमा रही नागरिकका असीमित चाहना पूरा गर्न त्यति सहज छैन । तर, पनि प्राथमिकता निर्धारण गर्दै समन्यायिक विकासलाई गण्डकी प्रदेशले जहिल्यै प्राथमिकतामा राखेको छ’, उनले भने, ‘यो ७ वर्षको अवधिमा भौतिक र कानुनी आधार निर्माण गर्दै अधिकारका लागि संघ सरकारसँग जुधिरहनुपरेको छ । संघीय शासन व्यवस्थाको सबलीकरणका लागि गण्डकी प्रदेश सरकारले सुरुदेखि नै अगुवाई गर्दै आएको छ ।’

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षिय योजनाले ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को सोच अगाडी बढाएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । प्रादेशिक विकास तथा रुपान्तरणका १४ प्रमुख क्षेत्रको पहिचान गरी दोस्रोे पञ्चवर्षिय योजना कार्यन्वयनमा ल्याइएको उनको भनाइ थियो । उनले थपे, ‘गण्डकी प्रदेशको पहिलो योजनाको सिकाइ र भोगाइलाई केन्द्रविन्दुमा राखेर तर्जुमा गरिएको यस योजनाले राष्ट्रिय कार्यभारका अतिरिक्त प्रदेशको प्राथमिकता र आवश्यकताप्रति स्पष्ट मार्गचित्र पहिचान गरेको मैले ठानेको छु ।’

लामो समयदेखि अन्यौलमा रहेको प्रदेश सभा भवन निर्माण प्रक्रिया यस वर्षदेखि सुरु गरिएको उनले सुनाए । प्रदेश सरकारले चालु वर्ष बिनियोजन गरेको बजेटबाट ठेक्का सम्झौता भई प्रदेश सभाको भवन निर्माण प्रक्रिया अघि बढेको उनले जानकारी गराए । नागरिकको असीमित आकांक्षा र सीमित स्रोत साधनको बीच तालमेल मिलाउन सरकारले सृजनशील रणनीति तय गर्नुपर्ने उनले बताए ।

जनविश्वास सुदृढ गर्नुपर्नेमा सरकार सचेत रहेको उनको भनाइ थियो । ‘जनता सामु गरिएका प्रतिबद्धता पूरा गर्ने कामलाई सरकारले आफ्नो जिम्मेवारीको रुपमा लिएको छ’, उनले भने, ‘सुशासन, सेवा प्रवाह, जवाफदेहिता, भ्रष्टाचार नियन्त्रण, शासनमा नागरिकको पहुँच अभिवृद्धिमा सरकार सदैव दृढ र प्रतिबद्द रहनेछ ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.