पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई धरौटीमा रिहा गर्ने आदेश आएको छ । जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको एकल इजालसले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा आदेश दिएको हो ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्वामा बिहिबार अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ परेका उनी कास्की कास्की प्रहरीको हिरासतमा थिए ।
रविसँगै पूर्वडिआइजी छविलाल जोशी ८८ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । जिबीसँग मिलेर रकम ठग्ने लिला पछाईं, पूूर्वसांसद सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छाड्ने आदेश भएको हो ।
खनालसँग १५ लाख, पछाईसँग ३६ लाख, मीनासँग ५ लाख, आरतीसँग ५ लाख र कृष्णबहादुरसँग एक लाख रुपैयाँ धरौटी माग भएको छ ।
पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले पुस ७ गते अदालतमा मुद्दा दायर गरेको थियो ।
सुरुमा जिल्ला सरकारी वकिलको कार्यालयले गत वर्षको असोज १८ गते पनि १९ जनालाई प्रतिवादी बनाएर सूर्यदर्शन सहकारी प्रकरणमा मुद्दा दायर गरेको हो । यहीं पुस ५ गते तीनै १९ जनालाई पूरक अभियोग लगाइएको छ । पुस ७ गते जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने, पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङ लगायत ४४ जनालाई प्रतिवादी बनाएर थप अभियोग दायर भएको हो । जसमा ५ जना र आठ कम्पनीको मुद्वा सम्पत्ति जफथ प्रयोजनार्थ रहेको छ ।
सूर्यदर्शन सहकारी ठगीको मुद्दामा सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् ।
सूर्य थापा नेतृत्वको सहकारी सम्बन्धि संसदीय विशेष छानविन समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगन्जको समानता सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर लगानी गरेको देखाएको थियो ।
प्रतिवेदनले रवि प्रबन्ध निर्देशक रहेको गोरखा मिडियामा पोखराको सूर्यदर्शन सहकारीको पाँच करोडसहित ६५ करोड रूपैयाँ सहकारीमा ल्याएको देखिएको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।