पोखरा
सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा पेश गरिदैछ । म्याद थपका लागि रविलाई अदालत पेश गर्न लागिएको यो पाँचौ पटक हो ।
यसअघि कात्तिक २५ गते जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले रविलाई १३ दिन हिरासत राख्न अनुमति दिएको थियो । अदालतले दिएको म्याद शुक्रबार सकिएपछि आइतबार आज अदालत पेश गर्दैछ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमार्फत २५ दिनको म्याद थपको अनुमति माग्ने तयारी गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार रविलाई म्याद थपपछि यहीँ हप्ता काठमाडौं पठाइनेछ ।
काठमाडौं प्रहरीले पत्राचार गरेपछि यसअघि गोरखा मिडिया नेटवर्कका सञ्चालक रहेका पूर्वडिआइजी छविलाल जोशी र कुमार रम्तेललाई पनि काठमाडौं पठाइएको थियो । काठमाडौंमा वयान सकाएर उनीहरुलाई पोखरा फर्काइको छ । जोशी कास्की प्रहरीको हिरासतमा छन् भने रम्तेल पुर्पक्षका लागि थुनामा कास्की कारागारमा छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका रवि कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ परेका थिए । कात्तिक ३ गते बिहानपख पोखरा ल्याइएकोमा कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएको थियो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो । त्यसपछि दोस्रो पटक ७ दिनको म्याद थपिएकोमा तेस्रो पटक कात्तिक २० गते १० दिनको म्याद थपिएको हो ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी) सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाइ र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि आज अदालतमा उपस्थित गराइदैछ ।