‘कोल्डस्टोरमा राखेको आलु कुहियो, क्षतिपूर्ति चाहियो’

तनहुँ

जामुनेका छविलाल श्रेष्ठले बिउ रोप्ने आलु म्याग्दे गाउँपालिकाले चलाएको कोल्डस्टोरमा राखेका थिए । गत बर्ष फलाएको आलु यसपालि रोप्नलाई कोल्डस्टोरबाट निकाल्दा लामा–लामा टुसा पलाएका थिए ।

छविलालले टुसा भाँचेर खनजोत गरेको खेतमा आलुको विउ रोपे । तर, एउटा पनि आलु नउम्रिएको उनको गुनासो छ । कोल्डस्टोरमा आलु कति तापक्रममा राख्नुपर्छ गाउँपालिकामा कार्यरत कृषि प्राविधिकलाई ज्ञान नहुदाँ आलु बिग्रिएको उनको आरोप छ ।

‘कर्मचारीले ध्यान नदिएको जस्तो लाग्यो । पढेर मात्रै हुदैन परेका अनुभवी कर्मचारी नभएको जस्तो लाग्यो’, उनी भन्छन्, ‘मैले लगाएको आलु सबै खत्तम भयो । हिजो र अस्ती फेरी अर्को विउ ल्याएर लगाएको छु । यस्तो तरिकाले तपाईंहरुले आलु बिगारदिनुभो ।’

कोल्डस्टोरमा आलु राखेका किसानले नोक्सानी भोगेकाले गाउँपालिकाले क्षतिपूर्ति भर्नुपर्ने उनको माग छ । ‘कति जनाले तपाईंहरुको कोल्डस्टोरमा राखेको छ । कति जनाले कति–कति किलो राखेको हो । बिउको पैसा फिर्ता गर्नुपर्छ’, उनले भने ।

गाउँपालिकाले अनुदानमा बाँड्ने आलुको मुल्य पनि निकै चर्को भएकोमा उनले असन्तृष्टि जनाए । बजारमा ५० रुपैयाँ प्रतिकिलो पाइने आलुलाई गाउँपालिकाले अनुदानमा बाँड्दा १०० रुपैयाँ भन्दै किसानसँग बजारकै सरह मुल्य असुल्ने उनको आरोप छ । ‘बजारमा ५० रुपैयाँ पाइने अनुदानको आलुलाई १०० रुपैयाँ तिर्नुपर्छ । कसरी अनुदान भयो ?’, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग उनले प्रश्न छेडे । अर्कोतर्फ अनुदानमा आलु लगायत कृषि उपजको विउविजन समयमै बाँड्न ध्यानाकर्षण गराएका छन् ।

कृषि अधिकृतबाट रिटायर्ड भएका रामबहादुर थापाले पनि विउविजन समयमै वितरण भएमात्रै उत्पादन लिन सकिने बताए । अनुदान वितरणलाई पारदर्शी बनाउन उनको सुझाव छ ।

गाउँपालिकाले बाँड्ने अनुदान र विउविजनसँगै बाँदरले सताएपछि खेतबारी बाँझिएको उनको जिकिर थियो । ‘सबैको घरघरै बाँदर आउन थाल्यो’, उनले भने ।

अन्नवाली मात्रै नभएर बाँदरले सुन्तला खेती गरेका किसानलाई पनि हैरान पारेको उनी बताउँछन् । ‘एकैपटक ३०/३५ क्यारेट सुन्तला स्वात्तै खाइदियो । अब उजुरी गर्न कहाँ जाने ?’, प्रश्न गर्दै उनी भन्छन्, ‘एक पटक बाँदरको हुल पस्दैमा ३०/४० हजार नोक्सान गर्दिन्छ । दैवीप्रकोप जस्तै भयो बाँदर । सामुदायिक वनले कटुसको रुख काट्दिन भएन ।’

बाँदरलाई वनमै भुलाउन चिउरी, आँप, वर, पीपल, पँदेल लगायतका रुख रोप्नुपर्ने उनको तर्क छ । उनले थपे, ‘खान नपाएका कारण बाँदरले बढी दुख दियो । जति गफ गरेपनि खाद्यन्न वाली लगाउन छाडेको बाँदरको समस्याले हो । यसका लागि केही गर्न गाउँपालिकालाई अनुरोध छ ।’
कृष्णराज घिमिरेले प्रमुख प्रसाशकीय अधिकृत चिन भ्रमणमा गएको बखत किसानले जैं घाँसको बिउ बेलामा नपाएको आरोप लगाए । हाकिम नहुँदा किसानले समयमै घाँस लगाउन नपाउने भन्दै व्यंग्य हाने । ‘यति लाजमर्दो अवस्था भोग्यौं हामीले’, उनको भनाइ थियो । नीति कार्यक्रम कार्यन्वयन निकै फितलो भएको उनको अनुभव छ ।

शुक्रबार म्याग्दे गाउँपालिकाले गरेको प्रथम चौमासिकको सार्वजनिक सुनवाइमा गाउँपालिकावासीलाई स्वस्थ्य राख्न योगका लागि गाउँपालिकाको चासो, पृथ्वी राजमार्ग निर्माणका क्रममा पुरिएका पानीको मुल संरक्षण, राजमार्गको राइट अफ वे, सार्वजनिक जग्गाको संरक्षण, सडकमा पर्ने जग्गाको लगतकट्टा लगायतको विषयमा प्रश्न गरे ।

सामुदायिक विद्यालयको बस चलाउनै धौं भएको विषय पनि उठेको छ । ढुंगा गिट्टी बालुवा उत्खनन्मा जनप्रतिनिधि र कर्मचारीले चलखेल गरेको आशंकासमेत उब्जिएको छ ।

म्याग्दे गाउँपालिका–२ जामुनेमा भएको सार्वजनिक सुनवाइमा गाउँपालिकामा बिरामीका लागि अक्सिजनको अभाव, एम्बुलेन्सको चर्को भाडादार, नियमित बजार अनुगमन नहुने, टुक्रे योजना बढी हुँदा विकास निर्माण प्रभावकारी हुन नसकेको सहभागीले गुनासो गरे । फाइल लिएर सेवाग्राही कोठाकोठामा डुल्नुपर्ने बाध्यताको अन्त्य गर्नसमेत माग गरेका छन् ।

उठेका प्रश्नको जवाफ दिदै प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले विज्ञ कर्मचारी नहुँदा कोल्डस्टोरमा राखिएको आलु बिग्रिएको स्वीकार गरे । ‘जनताले राखेको आलु कुहिनबाट बचाउन सकिएन । यसमा गाउँपालिका दुख व्यक्त गर्दछ । किनभने हाम्ले प्रयास गर्दागर्दै पनि केही किसानहरुको विउ उम्रियो, कुहियो’, उनले भने ।

कोल्डस्टोर सुधार गर्न विज्ञहरुसँग छलफल भइरहेको सुनाए । आगमी वर्ष किसानले आलु नकुहिने गरेर म्याग्देकै कोल्डस्टोरमा राख्न व्यवस्था मिलाउने उनको प्रतिबद्धता छ ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बजार अनुगमन गरिरहेको बताए । ‘तामझाम गरेरै गर्नुपर्छ भन्ने छैन हामीले गोप्य रुपमा गरिरहेका छौं’, उनको दाबी छ । गाउँपालिकाले सेवाग्राहीले एकै ठाउँबाट सेवा लिने व्यवस्था मिलाउन लागिरहेको सुनाए ।

योजना अनुगमन नगरीकन भुक्तानी नदिएको भन्दै बदमास गर्ने उपभोक्ताहरुबाट बढी गुनासो आउने उनको जिकिर छ । ‘हामी त असाध्यै इमानदार हुनुप¥यो प्रतिनिधि । कहीं तलमाथी गर्नै भएन । तर, जनता पनि इमानदार हुनुप¥यो’, उनले अनुरोध गरे ।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पारदर्शी ढंगले काम गरिरहेको दाबी गरे । साधनस्रोतले भ्याएसम्म काम गरिरहेको उनको भनाइ छ । राम्रो काम गर्दा पनि बढी आशंका भइरहेकोमा उनी असन्तृष्ट सुनिए ।

‘हामी टुप्पीदेखि पैतलासम्मको बल लगाएर कसरी म्याग्देलाई समृद्ध बनाउन सकिन्छ ? जनतालाई कसरी छिटोछरितो सेवा प्रदान गर्न सकिन्छ ? हामी शासक होइन सेवक भएर अगाडि बढिरहेका छौं’, उनले भने, ‘तर, हामीप्रति प्रश्न यस्ता आउँछन की गरिरहेका काम पनि नचाहिदो काममा हिँडिएछ की झैं लाग्ने ? क्यार्न यो ठाउँमा आइयो होला ? भन्या जस्तो ।’ अध्यक्ष श्रेष्ठले आफ्नो नेतृत्वको टिमले कहीं चुक्ने गरेर काम नगरेको ठोकुवा गरे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.