शुक्लागण्डकीमा ठेकेदारको मनलाग्दी उत्खनन्, मौन जनप्रतिनिधि !

दुलेगौंडा-बुङबुङ्ती धूलो उडाउदै ढुुंगा बोकेको टिपर हुँइकिन्छन् । ढुंगा खन्याएर फर्किहाल्छ । झण्डै दुई किलोमिटर टिपर पछ्याउँदै पुग्दा पहरोमा डोजरले डोब लगाइरहेको दृश्य भेटिन्छ । शुक्लागण्डकी नगरपालिका–११ कौढुंगा गाउँको फेदीमा रहेको खेत सम्याउने भन्दै मस्त ढुंगाको उत्खनन् भइरहेको छ ।


ढोरवाराही मोटरमार्ग अन्तर्गत साँखे–थुम्कीडाँडा सडक खण्डको कालापत्रेको ठेक्का पाएको अकेला एटलन्टिक जेभीले खेतसँगै रहेको पहरोलाई भत्काएर ढुंगा उत्खनन् गरिरहेको हो । उत्खनन् भइरहेको स्थान हेर्दा महिनौं दिनदेखि काम भइरहे जस्तै देखिन्छ । ढल्याबरको विशाल पहरो भत्काएर उत्खनन् भइरहदा शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधि बेखबर जस्तै छन् ।


उत्खनन् गर्ने ठेकेदार र जग्गावालाले न अनुमति लिएका छन् । न त प्रारम्भिक वातावरणीय परीक्षण गरेका छन् । सबैभन्दा नजिकको सरोकारवाला वडा कार्यालयदेखि नगरपालिकासम्म यो विषयमा तैचुपमैचुप छन् ।


वडाध्यक्ष शालिकराम भट्टराई उत्खनन्को अनुमतिबारे वडालाई कुनै जानकारी नभएको गैरजिम्मेवार प्रतिक्रिया दिन्छन् । ‘ढुुंगाको व्यवस्था गरिपाउँ भनेर पुर्जा र व्यक्तिको निवेदन लिएर नगरपालिकामा बुझाउने काम भाको हो । नगरपालिकाले अनुमति द्याछ, छैन त्यो बारेमा जानकारी छैन’, उनले भने । उत्खनन् भइरहेको विषयमा भने आफू जानकार रहेको भट्टराईले सुनाए ।


हामीले वडाध्यक्ष भट्टराईलाई प्रश्न ग¥यौं अनुमति लिएर भएको हो या नलिइ यसबारे किन चासो रहेन ? ‘निवेदन दिइसकेपछि नगरपालिकाको उपमेयरको नेतृत्वमा एउटा अनुुगमन टोली आएर निरीक्षण गरेर गइसक्नुुभाको छ’, उनले भने ।


शुक्लागण्डकीका अनुुगमन समितिका संयोजक उपमेयर खुमबहादुर विक (राजु) भने खन्न सुरु नहुदै पुगेको बताउँछन् । ‘निवेदन दिइसकेको थियो । विधिवत् छ की छैन कसो छ । व्यक्तिको हो की सार्वजनिक छ भनेर हेरेर आएका हौं’, उनले भने ।


हामीले अनुगमनमा सँगै गएका थपलाई सम्पर्क गर्दा भने उत्खनन् सुरु भइसहेको सुनाए । त्यसपछि वडाध्यक्ष भट्टराईसँग यो विषयमा थप बुझ्नलाई पटक पटक सम्पर्क गर्दा फोनै उठाएनन् ।


शुक्लागण्डकी नगरपालिका–११ कौढुुंगाको ढल्याबरमा उत्खनन् गर्नलाई नगरपालिकाले अनुमति नदिएको मेयर कृष्णराज पण्डित र सूचना अधिकारी लक्ष्मण लम्सालले जानकारी गराए । दुवैको एउटै भनाइ थियो, ‘उत्खनन्का लागि अनुुमति नगरपालिकाले दिएको छैन ।’


शुक्लागण्डकी नगरपालिकाको निजी जग्गाको ढुंगा, गिट्टि, बालुवा, माटो आदि उत्खनन्, संकलन तथा ढुवानी व्यवस्थित गर्ने सम्बन्धि आफ्नै कार्यविधि छ । हालैको हिउँदे नगरसभाले शंशोधन गरेको कार्यविधिको दफा ६ मा १ रोपनी भन्दा बढी अथवा ३०० घनमिटर भन्दा बढी ढुंगा, गिट्टी, बालुुवा, माटो आदिको उत्खनन् हुन सक्ने क्षेत्रफलको अनिवार्य रुपमा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने भनिएको छ । ढल्याबरको उत्खनन्मा न अनुमति छ न कार्यविधिमा भनिएको जस्तो प्रारम्भिक वातावरणीय परीक्षण भएको छ । पहरो नै भत्काउने गरेर भएको उत्खनन्मा वडा कार्यालयदेखि नगरपालिकाले मौन साथ दिएका छन् ।


उत्खनन्को विषयमा हामीले चासो देखाएपछि भने नगरपालिकाले इञ्जिनियर र अमिनसहितको अनुगमन टोली स्थलगत निरीक्षण गर्न खटाएको छ । सोमबार अनुगमन टोली पुगेपनि कति परिमाणमा उत्खनन् भएको छ ? सार्वजनिक जग्गामा उत्खनन् भएको हो या होइन भन्ने विषय अझै एकिन भएको छैन ।


ढल्याबरमा मात्रै होइन शुक्लागण्डकीमा सडक निर्माणको ठेक्का पाएका अन्य निर्माण कम्पनीले खेतबारी सम्याउने नाममा मनलाग्दी उत्खनन् गरिरहेका छन् । संघ, प्रदेश र स्थानीय तहको बजेटबाट सडक स्तरोन्नती गर्न ठेक्का लिएकाले जग्गा सम्याइदिने, बाटो बनाइदिने नाममा अनुुमति नलिइकन उत्तखनन् गरेको खुलेको छ ।


शुक्लागण्डकी नगरपालिका–१० छापामा ढोरवाराही मोटरमार्गको सडकको केही तल पनि त्यसैगरि उत्खनन् भइरहेको छ । सडक डिभिजन कार्यालय अन्तर्गत मान्द्रे–साँखे सडक मर्मतको जिम्मा लिएको बागेश्वरी बिल्डर्स प्रालिले उत्खनन् गरेको हो ।


बिल्डर्सले सुरुमा नगरपालिकाबाट अनुमति लिएर उत्खनन् गरेको बताएको वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिए । नगरपालिकाले अनुमति नदिएको थाहा पाएपछि आफूले रोकेको उनले बताए ।


बागेश्वरी बिल्डर्सका प्रतिनिधि दीपक रैसवालले बारी सम्याउनलाई एउटा ठूलो ढुंगा मात्रै फुटाएको बताउँछन् । तर, त्यहाँ सडकको तलपट्टि उत्खनन् भएकाले बर्खामा भीषण बर्षा हुँदा पहिरो खस्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।


शुक्लागण्डकी नगरपालिका–१ थप्रेक पुग्ने लालध्वज सडक निर्माणका लागि तल्लीपोखरी नजिकै पनि उसैगरि निर्माण व्यवसायीले उत्खनन् गरेको छ । थप्रेककै सिम्लेमा पनि सडक स्तरोन्नती गर्न उत्खनन् भएको छ । तर, त्यहाँ पनि कसैको नजर परेको छैन ।


केही दिन अघि मात्रै शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौसंरक्षण केन्द्रमा दुलेगौंडा लिलचोक मोटरबाटो निर्माणको जिम्मा पाएको बानियाँ निर्माण सेवाले ढुंगा संकलनको अनुमति लिएर उत्खनन् नै गरेको थियो । त्यहाँको उत्खनन्को विषय निकै विवादमा छ । बानियाँ निर्माण सेवाले संकलनको वाहानामा तोकिएको भन्दा बढी ढुंगा उत्खनन् गरेपनि कारबाहीतर्फ नगरपालिकाले चासो दिएको छैन ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.