कार्यविधि मिच्दै शुक्लागण्डकी, ठेकेदारको मनमौजी उत्खननमा रमिते !

विनोद ढुंगाना

तनहुँ- यो समाचारको सुरुवात गरौं, शुक्लागण्डकी नगरपालिकाले बनाएको उत्खनन् सम्बन्धि कार्यविधिबाट ।

शुक्लागण्डकी नगरपालिकाको निजी जग्गाको ढुंगा, गिट्टि, बालुवा, माटो आदि उत्खनन्, संकलन तथा ढुवानी व्यवस्थित गर्ने सम्बन्धि कार्यविधि २०७७ गएको हिउँदे नगरसभाले शंसोधन ग¥यो ।

दफा ६ मा १ रोपनी भन्दा बढी अथवा ३०० घनमिटर भन्दा बढी ढुंगा, गिट्टी, बालुुवा, माटो आदिको उत्खनन् हुन सक्ने क्षेत्रफलको अनिवार्य रुपमा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने भनिएको छ । जनताले आफ्नो निजि खेतबारी खेतीयोग्य बनाउनलाई सम्याउदा पनि प्रारम्भिक वातावरणीय परीक्षण अनिवार्य हुँदा सरकारी जग्गाको त नहुने कुरै भएन ।

संघीय सरकारले बनाएको ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ ले पनि वातावरणीय अध्ययन प्रतिवेदनलाई अनिवार्य भनेको छ । प्रतिवेदनको अध्ययन गरेर मात्रै उत्खनन स्थानिय तहले उत्खनन् गर्न दिने मापदण्डलाई पनि रद्दी बनाएर शुक्लागण्डकी नगरपालिकाले मनमौजी तरिकाले उत्खनन् गर्न दिएको छ ।

शुुक्लागण्डकी नगरपालिका–९ घारीमा रहेको गौसंरक्षणको केन्द्रमा भएको ढुंगा उत्खनन् विवाद अहिले उत्कर्षमा छ । दुलेगौंडा–लिलाचोक सडक स्तरोन्नतीको ठेक्का पाएको बानियाँ निर्माण सेवालाई गौसंरक्षणको ढुंगा उत्खनन्का गर्न नगरपालिकाले मापदण्डमा अनिवार्य भनिएको प्रारम्भिक वातावरणीय परीक्षणको नियम कुल्चिएर अनुमति दिएको खुलेको छ । अर्कोतर्फ तोकिएको परिमाण भन्दा बढी उत्खनन् हुँदासमेत नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी मौन हुदाँ मिलेमतोको आशंकाले घेरिएका छन् । उत्खनन् भएको स्थान शुुक्लागण्डकी नगरपालिका–९ को कार्यालय नजिकै हो । वडा कार्यलय र जनप्रतिनिधि यसका रमिते बने ।

नगरपालिकाका सूचना अधिकारी लक्ष्मण लम्सालका अनुसार बानियाँ निर्माण सेवाले एक हजार १९० घनमिटर ढुंगा संकलन र ढुवानीको अनुमति लिएको हो । त्यसका लागि ३ लाख ७८ हजार ४०२ रुपैयाँ राजस्व, ५ हजार ६७६ रुपैयाँ अग्रिम आयकर ठेकेदार बानियाँले बुझाएको थियो । ढुंगा संकलन गर्न दिएपनि उत्खनन् गर्न अनुमित नदिइएको लम्सालले बताए ।

तर, गौसंरक्षण केन्द्रमा मान्छे डुबाउने खाल्टो खनेर ढुंगा निकालको देखिन्छ । गौसंरक्षण सञ्चालनको जिम्मा लिएको शुक्लागण्डकी मुुक्तिनाथ च्यवनधामले राखेको रेकर्डअनुसार १०५ टिप ढुंगा ठेकेदारले लगिसकेको छ ।


बानियाँ निर्माण सेवाका प्रतिनिधि नवीन पराजुलीका अनुसार १ टिपमा १२ घनमिटर ढुंगा ढुवानी हुन्छ । उनको भनाइलाई आधार मान्दा अनुमति लिएको भन्दा ५८ घनमिटर बढी ढुंगा लगिसकिएको छ । त्यहाँ निकालेर राखिएको ढुंगा थुुप्रो पनि ठूलै देखिन्छ । सरोकारवालाले विरोध गरेपछि मात्रै बानियाँले ढुंगा लैजान रोकेको हो । यसले पनि मिलेमतोको आशंका उब्जाएको स्थानीय सरकोरवाला बताउँछन् ।


शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित गौसंरक्षणमा घाँस उमार्न ढुंगा उत्खनन्को अनुमति मागेपछि दिइएको बताउँछन् । ‘ढुंगाहरु हटाउनुप¥यो खेती गर्नुप¥यो भनेपछि प्राविधिक गएर त्यहाँको स्टेमेट गरेर त्यसको राजस्व प्रदेशको कानुन अनुुसार नगरपालिकामा बुझाएर बाँकी डेढ लाख रुपैयाँ गौसंरक्षणलाई चाहिने पराल दिएर समितिमार्फत भएको हो’, मेयर पण्डितले भने ।


शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष बाबुराम पुलामीसहित गौसंरक्षण केन्द्र सञ्चालन गर्ने समितिको सहमतिमा उत्खनन् गर्न दिएको मेयर पण्डितको दाबी छ । कानुन, प्रक्रिया पु¥याएर उत्खनन् गर्न अनुमति दिएको उनले दाबी गरे । संकलन भएको ढुंगा नगरपालिकाको प्राविधिकले नापजाँच गरेपछि ढुवानी गर्ने सम्झौता भएको उनी बताउँछन् । उत्खनन्को विवाद उत्कर्षमा पुग्दा पनि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अनुगमनसँगै नापजाँचमा पुगेका छैनन् ।


‘यदि बढी खनेको रहेछ भने जरिवाना तिराउँछौं । प्रदेशको राजस्व अनुुसार तिराएर थप जरिवाना लिन्छौं’, मेयर पण्डितको दाबी छ, ‘गलत काम गरेको भए त कारबाही गर्छौं हामी ।’ गलत काम गर्ने कारबाहीको भागिदार हुनपर्ने उनको जिकिर छ ।


यता गौसंरक्षण सञ्चालनको जिम्मा पाएको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होमनाथ लम्साल ‘अर्जुन’ नगरपालिकाले उत्खनन्को अनुमति दिएको पत्र पठाएपछि मात्रै दिइएको बताउँछन् । उत्खनन्मा समितिको कुनै हात नभएको उनको दाबी गरे ।


नगरपालिकाले पठाएको पत्रमा वडा कार्यालयले पठाएको सिफारिस अनुसार ढुंगा संकलन गर्न अनुमति दिइएको खुलाइएको छ । मेयर पण्डितले पठाएको पत्रमा भनिएको छ, ‘…वडा कार्याको प्राविधिकबाट नापजाँच गराइ परिणाम एकिन भएपश्चात मात्र नगरपालिकामा राजस्व बुझाइसकेपछि बानियाँ कन्स्ट्रक्सनलाई ढुंगा संकलन गर्न दिनुहुन अनुरोध छ ।’


सुरुमा बानियाँ निर्माण सेवाका प्रतिनिधि गतवर्ष घाँस रोप्ने बेलामा संकलन गरिएको ढुंगा खरिद गर्नलाई गौसंरक्षणमा आएका थिए । नगरपालिकालाई राजस्व तिरेर राखेको ढुंगा समितिले विक्री ग¥यो ।
ढुंगा निकालेर घाँस लगाउनलाई माटोसमेत हालेर सम्याउने प्रतिबद्धतासहित उत्खनन् गर्न दिएको बुझिन्छ । बानियाँ निर्माण सेवाका प्रतिनिधि नविन पराजुलीले अनुमति लिएको मात्रै ढुंगा लगेको दाबी गर्छन् । विवाद नआउदै आफूले ढुंगा ढुवानी गर्न रोकेको बताए । ‘कसैले विवाद गरेर रोक्या होइन मैले । मैले स्पष्ट पारे’, उनको ठोकुवा छ । खनेर चाल्नेबेलामा तोकिएको परिणाम नाघेपछि आफूले बन्द गराएको पराजुलीको जिकिर छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.