दमौली– अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ को अवसरमा आयोजित खुला कविता प्रतियोगिताको उपाधि ममता विश्कर्माले जितेकी छन् ।
व्यास नगरपालिकाको कार्यालय, सामाजिक विकास कार्यालय तनहुँ र महिला सशक्तिकरण सञ्चार समाज तनहुँको आयोजनामा दमौलीमा भएको कविता प्रतियोगितामा सत्यवति माध्यमिक विद्यालयकी छात्रा विश्वकर्मा विजेता भएकी हुन् ।
‘महिला र श्रम’ शीर्षकमा भएको कविता प्रतियोगितामा व्यास नगरपालिका–१० की लक्ष्मी तिमल्सिना पौडेल दोस्रो, शुक्लागण्डकी नगरपालिका–३ की आशा पौडेल तेस्रो भइन् ।
व्यास–२ की राममाया श्रेष्ठ र शुक्लागण्डकी–५ खैरेनीटारकी लक्ष्मी भण्डारी कार्कीले सान्त्वना स्थान हासिल गरे ।
प्रतियोगिताको विजेता, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल प्रतियोगिलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार र २/२ हजार रुपैयाँको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
विजेतालई व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आचार्य, व्यासकी उपमेयर इन्दिरा दरै लगायतले पुरस्कृत गरेका हुन् ।
प्रतियोगितामा कवि नारायण पोखरेल, गण्डकी वाङ्मय प्रतिष्ठानकी अध्यक्ष गौकुमारी न्यौपाने र रूक्मीणि पौडेल निर्णायक रहेका थिए ।
महिला श्रमिकका हक, अधिकार तथा चुनौतीबारे जनचेतना अभिवृद्धि कविता प्रतियोगिता आयोजना गरिएको महिला सशक्तिकरण सञ्चार समाज तनहुँकी अध्यक्ष अञ्जु दाहालले जानकारी दिइन् ।
साहित्यिक सिर्जनाका माध्यमबाट महिला सशक्तिकरण र श्रम अधिकार प्रवद्र्धन गर्ने उदेश्य रहेको उनको भनाइ थियो ।