कोटीहोम विवादमा संवाद सुरु, ठाउँ परिवर्तन गर्ने तयारी

पोखरा

झडपको स्थितिसम्म पुगेको कोटीहोम विवाद समाधानका लागि संवाद सुरु भएको छ । सोमबार कोटीहोम गर्न लागेको मानव सेवा फाउण्डेसन र पोखरा महानगरपालिकाबीच वार्ता भएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधिको रोहबरमा महानगरपालिका, सुरक्षा निकाय र आयोजक मानवसेवा फाउन्डेसनका प्रतिनिधीबीच वार्ता भएको छ । पोखरा महननगरपालिकाका मेयर धनराज आचार्यको नेतृत्वमा आयोजक मानव सेवा फाउण्डेसनका विजय कृष्णमूर्ति भनिने विजय भण्डारीसहितको टोलीसँग वार्ताबाटै समाधान खोज्ने सहमति गरिएको छ । वार्तामा फाउण्डेसन स्थान परिवर्तनमा लचक भएको छ भने महानगरपालिका स्थान परिवर्तन गरेमा अनुमति दिने सवालमा सहमतिको विन्दु नजिक पुगेको हो ।

लेकसाइडस्थित बाराहीघाटमा मानव सेवा फाउन्डेशनले वैशाख १७ देखि जेठ २६ गतेसम्म ‘ऐतिहासिक श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट महायज्ञ’ गर्ने तयारीमा छ । बाराहीघाटमा पोखरा महानगरपालिकाले अनुमति दिएको छैन । बाराहीघाटमा शुक्रबार भूमिपूजनको कार्यक्रम भइरहदाँ पोखरा महानगरपालिकाले रोक्न खोज्दा दोहोरो झडप भयो । झडपमा पोखरा नगरप्रहरी ११ जना र कोटीहोम पक्षधरका ९ जना घाइतेसमेत भएका थिए ।

सोमबारको बैठकमा वैकल्पिक ठाउँको बारेमा छलफल सुरु भएको महानगरपालिका प्रवक्ता मोतिलाल तिम्सीनाले बताए । ‘अहिले तोकिएको ठाउँको विषयमा वैकल्पिक ठाउँको बारेमा छलफल भएको छ । भोली कार्यपालिका बैठकबाट अगाडि बढ्ने कुरा भाको छ’, उनले भने ।
बाराहीघाटमा यसअघि नै कार्यपालिका बैठकले अनुमति दिन नसक्ने निर्णय गरेको उनले सुनाए । ‘बारहीघाटको विषयमा पर्यटकीय ठाउँमा गर्न हुदैन, स्वीकृत हुदैन भन्नेमा हाम्रो कुरा छ । हामीले सुरुदेखि नै वैकल्पिक ठाउँको विषयमा बसेर छलफल गर्छौं भनेका हौं ।’ कार्यपालिका बैठक सकेर दोस्रो चरणको वार्ता भोलि नै हुने प्रवक्ता तिम्सीनाले बताए ।

विश्वहिन्दु महासंघका अध्यक्ष शंकर खरालले कोटीहोमलाई ऐतिहासिक बनाउन सहमति भएको बताए । ‘सबैको साझा कोटीहोम बनाउने निर्णय भयो । स्थान विशेषमा केही समस्या देखिएकाले कार्यपालिकाको बैठक बसेर ५ सदस्यीय विवाद समाधान समिति बनाएर कुन ठाउँमा गर्न उपयुक्त हुन्छ सहमति गरेर जाने भएका छौं’, उनले भने ।

समिति बनाउन पोखरा महानगरपालिका र मानव सेवा फाण्डेसनका तर्फबाट २÷२ जना र सुरक्षा निकायको तर्फबाट १ जना सदस्य हुने गरेर बनाउने प्रस्ताव गरिएको छ । मंगलबार बस्ने कार्यपालिका बैठकले यस विषयमा टुंगो लगाउने तयारी छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.