दुलेगौंडा– ब्लड क्यान्सरबाट ग्रसित भइ बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेका सायान खत्री बचाउ अभियानमा भ्याली युथ क्लबले आर्थिक सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका–९ घारीको भ्याली युथ क्लबले ८२ हजार २४८ रुपैयाँ सहयोग गरेको हो ।
शनिबार क्लबका अध्यक्ष सुवास शाहीसहित सायानको घर पुगेको टोलीले हजुरआमा उमा खत्रीलाई सहयोग रकम हस्तानतरण गरेका हुन् । २०० रुपैयाँ अभियान सञ्चालन गरेर सहयोग गरेको क्लबका अध्यक्ष शाहीले बताए । ‘२०० रुपैयाँ अभियानसहित अनलाइनमा सहयोगको आह्वान गरेका थियौं’, उनले भने । २३७ जनाले अभियानमा साथ दिएको शाहीले जानकारी दिए ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार निवासी धुर्ब खत्रीका साढे ७ वर्षका छोरा सायान चार बर्षदेखि क्यान्सर रोगबाट ग्रसित भएका छन् । पछिल्लो समय रोग बल्झिएपछि सायानलाई पोखरा, काठमाडौं हुँदै भारतको दिल्लीस्थित म्याक्स हस्पिटलमा उपचार भइरहेको छ ।
उपाचारका लागि डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने चिकित्सक बताएका धुर्वले तनहुँखबरलाई जानकारी दिए । अहिले सायान बचाउ अभियान नै सञ्चालन गरेर आर्थिक संकलनको काम भइरहेको छ ।