पोखरा
उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं पोखरा स्पोर्टस् अवार्ड’ उत्कृष्ट खेल पत्रकारको उपाधि नेपाललाई दिने निर्णय गरिएको हो ।
प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै नेपाललाई अवार्ड प्रदान गर्ने निर्णय गरिएको छ । मञ्चका पूर्वअध्यक्ष केशव पाठक र सदस्यमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्कीका अध्यक्ष माधव बराल, पूर्व सम्मानित रोहितराज पराजुली, खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमबि आस्था मगर र महासचिव परशुराम शर्मा प्रतिभा छनोट समितिमा थिए ।
मञ्चले वैशाख २६ गते नवौं पोखरा स्पोर्टस् अवार्ड वितरण गर्दैछ । अवार्ड वितरण कार्यक्रममा नेपाललाई ३५ हजार रुपैयाँ नगदसहित अवार्ड र सम्मानपत्र प्रदान गरिनेछ ।
करिब दुई दशकदेखि पोखरामा निरन्तर पत्रकारितामा क्रियाशील उनले नेपालले यसअघि पनि दर्जनभन्दा बढी पुरस्कार प्राप्त गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा राष्ट्रिय खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार–२०७९ प्राप्त गरिसकेका उनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७५, ‘विन्ध्यवासिनी गीतसंगीत पत्रकारिता पुरस्कार–२०७४’, ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता–२०८०’ लगायतबाट पुरस्कृत गरिएको थियो ।
वर्ष उत्कृष्ट खेलकुद संघसंस्था/क्लबतर्फको अवार्ड म्याग्दी जिल्ला भलिबल संघलाई प्रदान गरिने भएको छ । भलिबलका लागि उर्भर भूमि म्याग्दीमा जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडिसँगै प्रशिक्षक, रेफ्रि उत्पादन भइसकेका छन् ।
अहिले संघले ७ वर्षमाथि उमेर समूहका बालबालिकाहरुलाई खेलकुदमा आकर्षण गराउने गर्दछ । ग्रास रुटबाट खेलाडी उत्पादनका लागि प्रशिक्षण दिइ खेल संस्कारको विकास र विस्तार गर्दै आएको छ ।
संघले २०७९ सालमा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको थियो । एनभिए अवार्ड २०८० र गण्डकी प्रदेश भलिबल संघबाट पनि सम्मानित भइसकेको छ ।
ओलम्पियन भगवती खत्रीलाई नवौं पोखरा स्पोटर्स अवार्डमा लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस अवार्ड वितरण गर्दै आइरहेको छ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था÷ क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गर्ने गरिन्छ ।