टाइगर कप भलिबलः विभागीयबाहेकका टोलीमा विदेशी खेलाडी

पोखरा

पाँचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा विभागीय बाहेकका सबै टोलीले विदेशी खेलाडी समावेश गर्ने भएका छन् ।
महिला पुरुष दुवैतर्फ विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब सहभागी हुँदैछन् ।

माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगितामा विदेशीसहित ६÷६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

विदेशी टोली महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र पुरुषतर्फ श्रीलंकन आर्मी भलिबल टिम सहभागी हुँदैछ ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धामा उत्रदैछन् ।

महिलातर्फ टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, टाइगर ग्रुप अफ पोखरा नेपाल, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् ।

यसपालि महिलातर्फ गण्डकी प्रदेशको टोली सहभागी हुनेछैन । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालको टोलीले खेल्नेछ । टाइगर र गण्डकीले ३/३ जना विदेशी खेलाडी भित्राएको छ ।

विभागीयबाहेक अन्य टोलीले पनि विदेशी खेलाडीलाई अनुबन्ध गर्ने भएकाले यो संस्करणका खेलहरु रोमाञ्चक हुने प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । प्रतियोगिताको फम्र्याटसमेत नयाँ रोमाञ्चक बनाउन लागिएको उनको भनाइ छ ।

पाँचौं संस्करणमा पुरुष र महिला दुवैतर्फको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.