म्याग्देमा हल गोरु पाल्ने किसानलाई ४ हजारसम्म अनुदान

दुलेगौंडा

तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्नका लागि ‘हल गोरु पोषण अनुदान’ उपलब्ध गराउने भएको हो ।

गाउँपालिकाले चालु आर्थिक आर्थिक वर्षमा वडा नम्बर १ देखि ४ सम्मका हल गोरु पाल्ने किसानलाई हल गोरु पोषण अनुदान दिने पशु सेवा शाखा प्रमुख मुक्तिराम पौडेले बताए । एक हला पाल्ने किसानले बढीमा ४ हजार रुपैयाँसम्म पोषण अनुदान पाउने उनको भनाई छ । ‘त्यसका लागि कम्तिमा तीन वर्षसम्म हल गोरु पाल्ने र आफैं खेत जोत्ने कार्यमा संग्लन भएको हुनुपर्छ’, पौडेलले भने ।

गाउँपालिकाले हल गोरु पोषण अनुदानका लागि आवेदन माग गरेको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जारी गरेको सूचनामा किसानले आफैंले हल गोरुले जोत्ने प्रतिबद्धता, हलगोरु स्पष्ट देखिने तस्बिर र निवेदन पेश गर्नुपर्ने उल्लेख छ । मंगलबार जारी सूचना अनुसार महिना दिनभित्र किसानले आवेदन दिनुपर्नेछ ।

हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न म्याग्देले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.