वार्ता सफल भएपछि खुल्यो शुक्लागण्डकीका मेयरको कार्यकक्षमा लागेको ताला

तनहुँ

शुक्लागण्डकीका मेयर कृष्णराज पण्डितको कार्यकक्षमा लागेको ताला खुलेको छ । बुधबार दिउँसो शुक्लागण्डकी नगरपालिका–१० लोकदीटारवासीले मेयर पण्डितको कार्यकक्षमा ताल्चा लगाएका थिए ।

लोकदीटारमा आधारभूत स्वास्थ्य केन्द्रको माग गर्दै आन्दोलित उनीहरुले मेयर वार्तामा नआइ भागेको भन्दै कार्यकक्षमा ताला लगाएका हुन् । बुधबार साँझ वार्तापश्चात माग सम्बोधन हुने प्रतिबद्धता पाएसँगै ताला खुलेको छ ।

वडाको भेलाबाट आधारभूत स्वास्थ्य केन्द्र बनाउने सहमति नभएमा स्थानीयको माग र आवश्यकतालाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाले शहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । मेयर कृष्णराज पण्डित, उपमेयर खुमबहादुर विक ‘राजु’, वडाध्यक्ष राजेन्द्र भट्टराईसहितको टोलीले स्थानीयसँगको वार्तामा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न ४० लाख रुपैयाँ विनियोजन गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ । ‘सो केन्द्रमा आधारभूत स्वास्थ्य केन्द्रमा उपलब्ध हुने सेवा सुविधाका अतिरिक्त २४ घण्टे सुरक्षित प्रसुति सेवासमेत उपलब्ध गराउने निर्णय गरियो’, सहमतिमा भनिएको छ ।

स्वास्थ्य मन्त्रालयमा लोकदीटारवासीले आधारभूत स्वास्थ्य केन्द्रको माग गर्दै निवेदन दिएका थिए । वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीको सिफारिसमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले मन्त्रालयमा पत्राचार गरेका थिए । स्वास्थ्य मन्त्रालयबाट बजेट आउदा स्थान नतोकिएपछि विवाद चरम उत्कर्षमा पुगेको थियो ।

हाल आधारभूत स्वास्थ्य केन्द्र वडाको मुकाम छब्दीस्थित भाडाको भवनमा चलिरहेको छ । आफूहरुले मागेको बजेटले छब्दीमा नभइ लोकदीटारमै भवन बन्नुपर्ने मागसहित स्थानीय आन्दोलित भएका थिए । नीतिगत रुपमा संशोधन भएर लोकदीटारमै आधारभूत स्वास्थ्य केन्द्र बनाउन पहल गर्नेसमेत सहमति भएको हो ।

बुधबार दिउँसोसम्म आन्दोलित लोकदीटारबासीले मेयर पण्डित जवाफदेही बन्नुपर्ने माग राख्दै आन्दोलित भएका थिए । मेयर पण्डित मंगलबारसमेत वार्ता नगरीकन भागेको उनीहरुको आरोप थियो । मेयर पण्डितको निजि गाडीको चाबी आन्दोलनकारीले खोसेका थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.