पोखरा
कास्कीको पोखरा महानगरपालिकामा कर्मचारीको आन्दोलनले सेवा ठप्प भएको छ । वडाध्यक्षले प्रशासन शाखा प्रमुखमाथि हातपात गरेपछि कर्मचारीले नगरपालिका र वडा कार्यालयको सेवा ठप्प पारेका हुन् । पोखरा–४ का अध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोखरेललाई हातपात गरेका थिए ।
कर्मचारीलाई तालिममा पठाउनलाई सल्लाह नगरेको भन्दै आफुमाथि वडाध्यक्ष हातपातमा उत्रिएको प्रशासन शाखा प्रमुखको भनाइ छ । प्रशासकीय अधिकृतको कार्यकक्षमा पुग्नसाथ वडाध्यक्षले अपशब्द बोल्दै हातपात गर्नुभो’, उनले भने । वडाध्यक्षले पराजुलीले मादक पदार्थसमेत सेवन गरेको पोखरेल आरोप लगाउछन् ।
वडाध्यक्षले प्रशासन शाखा प्रमुखलाई कुटेको घटनाप्रति कर्मचारी सम्बद्ध ४ संगठनले मंगलबार मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई २४ घन्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए । स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकिकृत सरकारी कर्मचारी संगठनले संयुक्त रुपमा ध्यानाकर्षण बुझाउँदै कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्षलाई कारबाही गर्न माग गरेको हुन् । तर, २४ घन्टासम्म पनि कुनै सुनुवाई नभएको भन्दै कर्मचारीले महानगरको सेवा ठप्प पारेका हुन् ।
वडाध्यक्षविरुद्ध उजुरी परेको र कानुनबमोजिम प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए ।