रविको वकिलको दाबीः भागेर कहीं जाने मान्छे होइन, तारेखमा छाड्दा हुन्छ

पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई तारेखमा छाडेर मुद्वालाई अगाडि बढाउनुपर्ने उनका कानुन व्यवासायीले तर्क राखेका छन् ।
मंगलबार जिल्ला अदालत कास्कीका न्यायधिश नीतिज राईको इजालसमा रविको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले रविको रिहाइको माग गरे ।

रविलाई तारेखमा छाडेर मुद्वाको पुर्पक्ष अगाडि बढाउनुपर्ने उनको माग थियो । ‘राष्ट्रको चौंथो स्थापित पार्टीको चानचुन ११ लाख समानुपतिक मत रवि लामीछाने सिंगोलाई पत्याएर आएको हो’, उनको तर्क थियो, ‘सबैभन्दा बढी मत दिएर निर्वाचित प्रतिनिधि भागेर जाने, काहीं लुक्ने अदालतले बोलाएको बेला नआउने भन्ने हुदैन । त्यसैल तारेखमा छाडेर मुद्वाको पुर्पक्ष अगाडि बढाउनुपर्छ ।’

राजनीतिक प्रतिशोध साँध्ने हिसाबले अभियोग लगाइएको उनले बताए । सहकारीमा कहीं संग्लन नहुँदासमेत अभियोग लगाइएको उनको भनाई छ । दुराशय राखेर मुद्वा लगाइएको बताउँदै रविविरुद्ध लगाइएको कानुनका दफा सान्दर्भिक र कानुन आकर्षित हुने खालको नभएको वरिष्ठ अधिवक्ता घिमिरेले सुनाए ।

‘फसाउने नियतले गम्भिर कसुर देखिन्छ की भनेर सम्पत्ति शुद्धिकरण लगायतका मुद्वा लगाइयो । कुनै पनि प्रचलित कानुन । कानुनका सिद्धान्त, कार्यविधिगत त्रृटि सबै कुरा बिगारेर खाली अदालत जिम्मा दिइयो । राजनीतिमा कानुनको रङ हालेर धमिलो पारेर अदालतमा बुझाइयो’, उनको दाबी थियो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्वामा पूर्वगृहमन्त्रीसमेत रहेका लामीछानेको थुनछेक बहस सकिएको छ । रविको तर्फबाट ११ जना कानुन व्यवसायीले बहस गरेका छन् ।

मंगलबार वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे, रोहितराज बास्तोला, अधिवक्ताहरु राजेन्द्र सेढाईं, नारायणदत्त कँडेल, सुरज बस्नेत, सुनिता राउत, सुदीज्ञ पन्त, सुरज गोलेले बहस गरे । सोमबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशीलकुमार पन्त र सुरेन्द्र थापामगरले बहस गरेका थिए । उनीहरु सबैले रविलाई प्रतिशोध साँधेर फसाइएको दोहो¥याए । रवि भागेर कतै नजाने भएकाले तारेखमा छाड्नुपर्नेमा कानुन व्यवसायीको बहस केन्द्रित थियो ।

अधिवक्ता सेढाईंले पनि सरकारले प्रतिशोध साँधेर लामिछानेविरुद्द मुद्दा दायर भएको बताए । ‘रविलाई मुद्दा लगाउनैपर्छ भन्ने नियत राखेर सरकारले मुद्दा दायर गरेको छ’, उनको तर्क थियो ।

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले सूर्यदर्शनसहित पाँच सहकारबाट ६५ करोड रुपैयाँ गोखरा मिडिया नेटवर्कमा अपचलन भएको प्रतिवेदन सरकारलाई बुझाएको थियो । त्यसलगत्तै कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट रवि पक्राउ परेका हुन् ।

रविविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले दायर गरेको मुद्दामा सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

मंगलबार रविको बहस सकिएसँगै नेचर हब्र्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनालको थुनछेक बहस सुरु भएको छ । पूर्वसांसद सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङको बहस अझै बाँकी छ ।
गत मंगलबारदेखि सुरु भएको थुनछेक बहस रविसँगै पूर्वडिआइजी छविलाल जोशी र गितेन्द्र राई (जिबि) सँग मिलेर रकम अपलचलन गर्ने लिला पछाईंको सकिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले पुस ७ गते अदालतमा पूरक अभियोग दायर गरेको हो । पूरक अभियोगमा रवि, छवि लगायत ४४ जनालाई प्रतिवादी बनाइएको छ ।

जीबि राईसहित १९ जनाविरुद्ध पुस ५ गते थप अभियोजन दर्ता गरिएको थियो । गतवर्षको असोज १८ गते जीबि राई लगायत १९ जना विरुद्ध मूल मुद्वा दर्ता भएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.