रवि र छविविरुद्ध आज अभियोग दर्ता हुँदै

पोखरा


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेविरुद्ध जिल्ला अदालत कास्कीमा आज अभियोग दर्ता हुँदैछ ।


जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामीछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्वामा अभियोग दर्ता गराउन लागेको हो ।


पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वगृहमन्त्री लामीछानेसँगै ५ जनाविरुद्ध अभियोग दर्ता गर्ने तयारी छ । कास्की प्रहरीको हिरासतमा रहेका गोरखा मिडिया नेटवर्कमा रविका व्यवसायीक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई, नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङविरुद्ध अभियोग दर्ता हुनेछ ।


सरकारी वकिलको कार्यालयले शुक्रबार सूर्यदर्शनका पूर्वअध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग पत्र दायर गरेको छ ।
सरकारी वकिलको कार्यालय कास्कीकी न्यायधिवक्ता कमला काफ्लेका अनुुसार सूर्यदर्शन सहकारीको रकम अपचलन गरी फरार रहेका जीबीसहितका सञ्चालक र पुर्पक्षका थुनामा रहेकालाई संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्वा थपेर अभियोग दायर गरिएको हो । उनीहरुसँग १ अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गरिएको उनको भनाइ छ ।


गत सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री लामिछाने, पूर्वडिआइजी जोशीसहित ५१ जनालाई प्रतिवादी बनाएर कारबाहीको सिफारिससहित सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीको रायअनुसार एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।


पूर्वगृहमन्त्री लामीछाने कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ परेका थिए । उनलाई कात्तिक ३ गते विहान पोखरा ल्याइपु¥याइएको थियो ।


पीडित बचतकर्ताले उजुरी दिएपछि प्रहरीले गत वर्ष भदौ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो ।सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् । उनीहरुलाई शुक्रबार सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको पनि मुद्दा थपिएको हो ।


सूर्य थापा नेतृत्वमा बनेको सहकारी छानबिन संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्कमा सूर्यदर्शनसहित पाँच सहकारीबाट अवैधानिक तरिकाले रकम लगेर अपचलन गरेको ठहर गरेपछि रवि र छवि पक्राउ परेका हुन् ।


पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शनसहित काठमाडौँ, चितवन, बुटवल र वीरगञ्जका पाँच सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ लगेको सूर्य थापा नेतृत्वमा गठित सहकारी छानबिन संसदीय विशेष समितिले प्रतिवेदनमा औंल्याएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.