कालो पहाडजस्तै बनेको माछापुच्छ्रे

तनहुँ– सेताम्मे हिउँले ढाकिएर मुसुक्क हाँसेको माछापुच्छ्रे हिमालको दृश्य खेम तामाङले आँखा बन्द गर्दा फनफनी घुमिरहन्छ । जब आँखा खोल्छन् उनको अगाडि त्यही माछापुच्छ्रे कालो पहाडजस्तै बनेर टक्क उभिएको हुन्छ ।

बालखदेखि नै माछपुच्छ्रेको सामीप्यमा बाँचेका उनको अगाडि ठिंग उभिएको हिमालको दृश्यले ऐंठन हुन्छ । पहिले भैंसीको बथान लिएर उक्लने बेला र अहिले देखिरहेको हिमाललाई दाँज्छन् । उनलाई लाग्छ, ‘हिमाल डढे जस्तै ।’

‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साँच्चिकै पो पोखरा नै रैछ’


प्रेमप्रकाश मल्लको सुप्रसिद्ध यो गीतको शब्दले भनेझैं माछापुच्छ्रे हिमाल फेवातालमा चुर्लुम्म डुबेर पौडी त खेल्छ । सेताम्मे हिउँले ढाकिएर मुस्कुराउँदै होइन कालो पहाड बनेर ।

कालो पहाड जस्तै देखिने माछापुच्छ्रेको तस्बिरहरु यो साता सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । ‘जलावायु परिवर्तन’ को असर उल्लेख गर्दै अधिकांशले चिन्ता जनाइरहेका छन् । कालो माछापुच्छ्रेको दृश्यले पर्यटक पनि पोखरा घुमेर उतिसारो दंग छैनन् ।

के माछापुच्छ्रे हिमाल मंसिर पुसको महिनामा पहिला पनि यस्तै हिउँबिनाको कालो पहाड जस्तै उभिन्यो ? पोखरा आसपासबाट माछापुच्छ्रे नियाल्नेको मात्रै नभएर सञ्जालमा तस्बिर हेर्ने धेरैको मनमा प्रश्न बिजारोपण पक्कै हुनछ ।

पर्यटन व्यवसायी खेम तामाङसँग प्रश्न गर्दा माछापुच्छ्रेमा पहिला यो समयमा प्रशस्त हिउँ हुने गरेको सुनाए ।

‘पहिला हिमालमा एकदम हिउँ हुन्थ्यो । जहिले पनि मुस्कुराइरहन्थ्यो । अहिले त कालो डढेर बस्याछ’, ५३ वर्षीय उनले भने ।

१५ वर्षको उमेरदेखि भैंसी लिएर अहिलेको भ्युपोइन्टसम्म पुगेका तामाङका अनुुुसार कहिलेकाँही त मंसिरबाटै हिउँ पर्न सुरु हुन्थ्यो । हिजोआज पुस अन्तिममा पनि हिउँ पर्न मुस्किल भइरहेको उनले बताए । ‘कहिलेकाँही त कस्तो हुन्छ भने माछापुच्छ्रेमा हिउँ हुँदैन । अलिकति तल्लो बेल्टमा हिउँ हुन्छ’, उनले थपे, ‘पहिला त हुमाल (लोक्याम्प) कटेरो बनाएर बस्दा कटेरो कहाँनेर छ भनेर थाहा नहुने । ७ फिटसम्म हिउँ पर्थो ।’ पछिल्ला वर्षहरुमा ३ फिट बाक्लो हिउँ पर्दैैन । परेको हिउँ पनि छोटो समयमै पग्लिने उनको अनुभव छ ।

सिदिङका ६१ वर्षीया रेशमलाल गौतम हिउँ पर्ने समय पछि सरिरहेको बताउँछन् । पुस लाग्दासम्म हिमाल सेतो देखिने गरेर हिउँ पर्न सुरु हुने गरेको उनी सम्झन्छन् । ‘अहिले त माछापुच्छ्रेमा हिउँ नै देखिएको छैन । सानो लाइन मात्रै देखियाछ । उ बेलामा अलि बढी नै हिउँ हुन्थ्यो’, उनी भन्छन्, ‘अहिले रातो पहिरोजस्तो देखिन्छ त्यो ठाममा हिउँ हुन्थ्यो । अहिले छैन ।’

माछापुच्छ्रे हिमालमा मात्रै होइन निकै तल रहेको सिदिङ गाउँसम्मै बाक्लो हिउँ परेको उनलाई सम्झना छ । पछिल्लो दशक सिदिङमा निकै पातालो हिँउ खस्छ, केही घण्टामै विलाउने गरेर । सिदिङमा जस्तै हाइक्याम्पमा पनि परेको हिउँ लामो समय टिक्दैन ।

जलवायुका अध्येता डा. सुवास अधिकारीले पानी नपरेको कारणले माछापुच्छ्रे बढी कालो देखिरहेको बताए । ‘माछापुच्छ्रे कालो देखिनु पानी नपरेको कारणले हो । अहिले पश्चिम वायुको प्रभाव पर्ने समय हो’, उनले भने, ‘पानी पर्दाखेरी हिउँको रुपमा झर्थो । किनकी माथी तापक्रम कम भएपछि पानी हिउँको रुपमा झर्छ ।’

पानी नपर्दा भएको हिउँसमेत पग्लिने उनको भनाइ छ । २० औं वर्षदेखि सुक्ष्म रुपमा परेको जलवायु परिवर्तनको असर अहिले देखिइरहेको डा. अधिकारीले बताए । नेपालको हिमाली क्षेत्रमा प्रति दशकमा ०.६ सेल्लियस तापक्रम वृद्धि भइरहेको वैज्ञानिक अध्ययनले देखाएको उनले जानकारी दिए ।

विहानदेखि बेलुकासम्मै घाम पर्ने कारण पनि माछापुच्छ्रेमा हिउँ नरहने अनुसन्धानकर्मी डा. गणेश गुरुङ बताउँछन् । ‘विहान घाम झुल्कनेवित्तिकै माछापुच्छ्रेमा परिहाल्छ । बेलुका नडुबेसम्म परिराख्छ । माछपुच्छ्रे र वरपरका हिमालमा तापक्रमको कारणले पग्लने क्रम रफ्तारमा भइराखेको छ’, उनले भने ।

अर्को कारण जलवायु परीवर्तन भएको उनले बताए । अबको पुस्ताले माछापुच्छ्रेमा हिउँ नभएको कालो पहाड मात्रै देख्ने अवस्था आउन सक्ने उनको आशंका छ ।

माछापुच्छ्रे कालापत्थर बन्दै गर्दा गण्डकी पेरीफेरीको पर्वतीय पर्यटनमा निकै असर पुग्ने डा. गुरुङको विश्लेषण छ । ‘हामीले हिमाल नै बेचेर पर्यटक आकर्षित गर्ने हो । हिमालमा हिउँ नै छैन भने त कालापत्थर हेर्नलाई कोही मान्छे आउदैन । पर्वतीय पर्यटनमा ठूलो चुनौति देखा पर्दैछ’, उनी भन्छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.