पोखरा
पोखरा महानगरपालिकामा हरित यातायात प्रणाली विकास परियोजना सञ्चालन गर्न तीन स्थानमा बस टर्मिनल आवश्यक रहेको देखिएको छ । पोखराका ८४ वटा रुटका १ हजार २८६ स्थानमा बस स्टप निर्माण गर्नुपर्ने आवश्यकता देखिएको हो ।
कोरियाली टोलीले पोखराका मेयर धनराज आचार्यलाई बुझाएको हरित यातायात प्रणाली विकास परियोजना सम्बन्धी अध्ययन प्रतिवेदनले बस टर्मिनल र स्टपको चाहिने उल्लेख गरेको छ ।
पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयबीच भएको सम्झौता अनुसार कोरियाली टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारेको छ ।
प्रतिवेदनमा पोखराको विद्यमान सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै सहज र सरल बनाउने सुझाव उल्लेख छ । कोरियाली रेलमार्ग अनुसन्धान संस्थानले यसअघि पनि पोखराको सार्वजनिक यातायात प्रणाली बारेमा स्थलगत अध्ययन गरेको थियो ।
परियोजना अन्र्तगत कोरियाले विभिन्न साझेदार संस्थाको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ । यसको आधा रकम बस स्टप र बसमा मेसिन जडान गर्दा खर्च हुनेछ । पोखराको मुख्य चोक पृथ्वीचोकलाई थप विस्तार गर्ने उल्लेख गर्रिको छ ।
तीन चरणमा कार्यन्वयन हुने परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक काम सकिनेछ । दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास र तेस्रो चरणमा दीगो हरित यातायात प्रणालीको विकास हुनेछ ।
विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियन टोलीलको दाबा छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीहको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिनेछ ।
प्रतिवेदन अनुसार परियोजनाको अन्त्यमा पोखराको सार्वजनिक सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ । पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाबारे हरेक नागरिकले डिजिटल माध्यमबाट जानकारी पाउनेछन् ।
पोखराका मेयर धनराज आचार्यले परियोजनाले पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा हुने बताए । सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुको संख्या वृद्धि हुने उनको भनाइ छ । ‘कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरूलाई सहजता पुग्नेछ’, मेयर आचार्यले विश्वास व्यक्त गरे । पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका परियोजनाले भूमिका खेल्ने मेयर आचार्यले सुनाए ।