दोस्रो म्याग्दे महोत्सव जेठ १४ गतेदेखि हुने

तनहुँ

दोस्रो म्याग्दे महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुबजारस्थित स्कुल लाइनमा महोत्सव हुने लागेको हो ।

आयोजक थुर्प युवा क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै जेठ १४ देखि २५ गतेसम्म महोत्सव हुने जानकारी गराएको छ । म्याग्दे गाउँपालिकालाई देशभर चिनाउन महोत्सव आयोजना गरेको क्लबका अध्यक्ष नवराज हमालले बताए ।

‘जति रचनात्मक र सृजनात्मक कार्यक्रमहरु गर्न सकियो त्यति नै यस क्षेत्रको प्रर्बद्धनमा सहयोग पुग्छ’, उनले भने । म्याग्दे हुँदै पृथ्वी राजमार्गमा सवारी गुडेपनि यस क्षेत्र ओझेलमा परेको उनले बताए । महोत्सवले म्याग्दे क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउने उनको भनइ छ ।

स्थानीय कृषि उत्पादनको बजारीकरण, स्थानीय कला संस्कृति र प्रतिभाको प्रस्फुटन, म्याग्देलाई व्यापारीक क्षेत्रको रुपमा स्थापित गर्ने, पर्यटनको प्रबद्र्धन, धार्मिक स्थलको प्रचारप्रसारसँगै राष्ट्रिय कलाकारसँग साक्षत्कार गराउने महोत्सवको उदेश्य छ ।

महोत्सवबाट हुने मुनाफाले फुटबल मैदान निर्माणमा लगानी गर्ने अध्यक्ष हमालले जानकारी दिए । दीर्घरोगीको उपचारमा आर्थिक सहयोगसमेत गरिनेछ । महोत्सवमा २० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ ।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ महोत्सवले म्याग्देलाई चिनाउने विश्वास व्यक्त गरे । राजमार्गमै भएर पनि गाउँपालिका ओझेलमा परेको उनको भनाइ थियो । ‘म्याग्दे भनेको म्याग्दी भनेर भन्छन् महोत्सवले तनहुँमै म्याग्दे छ भनेर चिनाउनेछ’, उनले भने ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.