दुलेगौंडा
इन्टरनेट प्रदायक संस्था डिजी लिंक नेटवर्क प्रालिले ११ औं वार्षिकोत्सवको अवसरमा निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । जेठ २४ गते डिजी लिंकले शिविर गर्ने भएको हो ।
तनहुँ सेवा हस्पिटल दुलेगौंडामा शिविर हुने डिजी लिंकका अध्यक्ष विपिन वाग्लेले जानकारी दिए । तनहुँ सेवा हस्पिटल, आविष्कार अस्पताल र युआरएल फाउण्डेसनको प्राविधिक सहयोगमा शिविर हुन लागेको हो । सामाजिक उत्तरदायित्व वहन गर्दै शिविर गर्न लागेको उनको भनाइ छ । ‘हामीले व्यवसायसँगै सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्छ भनेर शिविर गर्दैछौं’, उनले भने ।
तनहुँ सेवा हस्पिटलका प्रबन्ध निर्देशक विष्णु अर्यालका अनुुसार नाक, कान, घाँटी रोग विशेषज्ञ डा. सञ्जय कोइराला, छाला तथा यौन रोग विशेषज्ञ डा. रमेश शर्मा, पेट, मुटु, छाती, सुगर, थाइराइड विशेषज्ञ डा. कृष्णराज अधिकारी, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डा. मेघराज लामीछाने, जनरल सर्जन डा. मत्सेन्द्र झा, डा.सन्तोष बरालले शिविरमा सेवा दिनेछन् ।
सुगर, युरिक एसिड, कोलस्ट्रोल, टिजी, इसीजी, भिडियो एक्सरे निुशल्क हुने उनले बताए । एक्सरेमा ५० प्रतिशत छुट प्रदान गरिनेछ । औषधिमा न्यूनतम् ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
तनहुँ सेवा हस्पिटलका अध्यक्ष हरि खड्काले अस्पतालमै गरिएको शिविरमा विश्सनीय रिपोर्ट आउने बताए ।
दुलेगौंडामा प्रधान कार्यालय रहेको डिजी लिंक तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, घिरिङ गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, स्याङजाको हरिनास गाउँपालिका र पाल्पाको रामपुर नगरपालिकाको २८ वडामा सेवा दिइरहेको छ । ३ हजार २०० बढी ग्राहकले डिजी लिंकको सेवा लिइरहेका छन् ।