दुलेगौंडा
शुक्लागण्डकी नगरपालिकामा भोलिदेखि एचपिभी खोप अभियान सुरु हुदैछ । अभियान माघ ३० गतेसम्म सञ्चालन हुनेछ ।
स्वास्थ्य मन्त्रालयले कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यालय जाने र १० देखि १४ वर्षसम्मका विद्यालय नजाने बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान चलाइरहेको छ ।
शुक्लागण्डकीमा भोलिदेखि सुरु हुने र त्यसको तयारी पूरा भएको स्वास्थ्य शाखा प्रमुख ढालबहादुर थापाले बताए । खैरेनीटार स्वास्थ्य चौकीबाट अभियानको शुभारम्भ हुनेछ । त्यसपछि तोकिएको खोप केन्द्रमा खोप दिइने थापाले बताए ।
खोप सञ्चालनका लागि प्रत्येक केन्द्रमा एक जना स्वास्थ्य स्वयंसेविक, एक जना शिक्षिका र एक जना स्वास्थ्यकर्मी खटिनेछन् । शुक्लागण्डकीका १२ वडामा ३२ केन्द्र तोकिएको हो । ती केन्द्रमा दुई हजार ७०६ बालिकालाई खोप दिइनेछ । विद्यालयमा अध्ययनरत दुई हजार ५९१ र विद्यालय नजाने ११५ जनालाई खोप लगाइने उनले जानकारी दिए ।
पछिल्लो समयमा महिलामा पाठेघरको क्यान्सरको समस्याले विकारल रुप लिइरहेकाले खोप लगाउन शाखा प्रमुख थापाको आग्रह छ ।
सरकारले यहि माघ २२ गतेदेखि फागुन १६ गतेसम्म देशैभर पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा (एचपिभी) भाइरस विरुद्धका खोप अभियान सञ्चालन गरेको हो ।
एचपिभी खोप एक मात्रा लगाए पुग्छ । सरकारले आगमी वर्ष देखि कक्षा ६ का छात्रा र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई नियमित खोप मार्फत मार्फत दिने निर्णय गरेको छ ।